ल्हेन्दे खोलाको बाढी: चार्जिङ स्टेसनमा रहेका करिब सात–आठओटा गाडी बगायो

  • Technology Khabar | २४ असार २०८२, मंगलवार
ल्हेन्दे खोलाको बाढी: चार्जिङ स्टेसनमा रहेका करिब सात–आठओटा गाडी बगायो
नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिँदै। तस्बिर : रामहरि न्यौपाने / रासस

काठमाडौं ।

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठओटा गाडी बगाएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौओटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ।

यसका साथै टिमुरेमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’लाई पनि बाढीले क्षति पुर्याएको छ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ। प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएको छ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ । रासस

प्रकाशित: २४ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...