
काठमाडौं ।
टेस्लाको पूर्ण स्वचालित रोबोट्याक्सीले हालै टेक्सासको अस्टिनमा यात्रु झारिसकेपछि पार्क गरिएको कारमा हल्का ठोक्किएको घटना भएको छ। युट्युबर ‘डर्टीटेस्ला’ द्वारा रेकर्ड गरिएको भिडियोमा एउटा सेल्फ-ड्राइभिङ मोडेल वाई गाडी मोडिएपछि एउटा टोयोटाको टायरमा हल्का ठोक्किएको देखिन्छ।
भिडियो अनुसार मोडेल वाईले आफ्नो यात्रु पहिल्यै झारिसकेको थियो, तर त्यसपछि अँध्यारो गल्लीबाट निस्कन गाह्रो भएको देखिन्छ। टेस्लाको यो रोबोट्याक्सी सेवा अस्टिनमा दुई हप्ता अघि मात्र सीमित सञ्जालसहित सुरु गरिएको थियो।
डर्टीटेस्लाका अनुसार यो घटनामा कुनै गम्भीर चोटपटक वा क्षति भएको छैन। रोबोट्याक्सीमा सवार सुरक्षा निगरानीकर्ताले अन्ततःसवारी नियन्त्रण लिएर गाडी अघि बढाएका थिए। ठोक्किने घटना सामान्य भए पनि, टेस्लाको मोडेल वाईले यात्रु झारेपछि सामान्य रूपमा नहिँडेर किन पार्क गरिएको गाडीमा ठोक्कियो भन्ने प्रस्ट भएको छैन।
यो घटनाबाहेक पनि केही आमन्त्रित प्रयोगकर्ताहरूले टेस्लाको रोबोट्याक्सी सेवासँग अस्वाभाविक अनुभवहरू साझा गरेका छन्। जस्तै—आपतकालीन बत्तीसहितको गाडी सडकमा नभएको अवस्थामा पनि रोबोट्याक्सी अचानक रोकिएको वा दोहोरो पहेँलो रेखाबाट केहीबेर गलत लेनमा गुडेको देखिएको इन्ग्याजेटले उल्लेख गरेको छ।
टेस्लाको स्वचालित ड्राइभिङ सफ्टवेयर मुख्य रूपमा क्यामेरा र कृत्रिम बुद्धिमत्तामा आधारित छ। यसको प्रतिस्पर्धी वेमोले भने क्यामरा, लाईडार र राडारको संयोजन प्रयोग गर्छ। यद्यपि, वेमो पनि समस्यामुक्त छैन।
गत वर्ष फोन पोलमा ठोक्किएपछि वेमोले फिनिक्स, एरिजोनामा आफ्ना रोबोट्याक्सीहरू फिर्ता बोलाएको थियो। हालसालै फेरि वेमोले अर्को फिर्ता आह्वान जारी गरेको छ, किनभने उसका केही रोबोट्याक्सीहरू देख्न कठिन सडक अवरोधमा ठोक्किने सम्भावना देखिएको थियो।
प्रकाशित: २३ असार २०८२, सोमबार