काठमाडौं ।
माइक्रोसफ्टले पाकिस्तानमा आफ्नो २५ वर्ष लामो उपस्थितिको अन्त्य गर्दै त्यहाँका सञ्चालन बन्द गर्ने घोषणा गरेको छ।
रेडमन्डमा मुख्यालय रहेको कम्पनीले शुक्रबार टेकक्रन्चलाई दिएको जानकारी अनुसार पाकिस्तानमा आफ्नो सञ्चालन मोडेल परिवर्तन गर्दै अब ग्राहकहरूलाई पुनःबिक्रेता र “नजिकका अन्य माइक्रोसफ्ट कार्यालयहरू” मार्फत सेवा दिने बताएको छ।
“यो परिवर्तनले हाम्रो ग्राहक सम्झौता र सेवामा कुनै असर पार्ने छैन,” कम्पनीका प्रवक्ताले इमेलमार्फत बताएका छन्। “हामीले यो मोडेल विश्वका अरू थुप्रै देशमा सफलतापूर्वक अपनाएका छौं। हाम्रा ग्राहकहरू हाम्रो पहिलो प्राथमिकता हुन् र भविष्यमा पनि उस्तै उच्चस्तरीय सेवा पाउनेछन्,” प्रवक्ताले थपे।
टेकक्रन्चसँग कुरा गरेका स्रोतहरू अनुसार यो निर्णयले पाकिस्तानस्थित माइक्रोसफ्टका पाँच कर्मचारीहरू प्रभावित हुनेछन्। पाकिस्तानमा कम्पनीको कुनै इन्जिनियरिङ स्रोत नरहेको र ती कर्मचारीहरूले अज्युर र अफिस उत्पादन बिक्री गरिरहेको बताइएको छ।
कम्पनी पुनर्संरचनाको व्यापक प्रक्रियासँगै यो निर्णय आएको हो। पाकिस्तानको सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालयले माइक्रोसफ्टको यो निर्णयलाई “व्यापक कार्यबल-अप्टिमाइजेसन कार्यक्रमको भाग” भन्दै व्याख्या गरेको छ। यसै साताको सुरुमा माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार, अर्थात् करिब ४ प्रतिशत कर्मचारी कटौती गरेको थियो।
यस संक्रमणको तयारीका रूपमा माइक्रोसफ्टले पछिल्ला केही वर्षमा पाकिस्तानका लागि लाइसेन्सिङ र व्यावसायिक सम्झौता व्यवस्थापनलाई आयरल्यान्डको युरोपियन केन्द्रमा सारिसकेको थियो भने दैनिक सेवा स्थानीय प्रमाणित साझेदारहरूले दिँदै आएका थिए।
“हामी माइक्रोसफ्टको क्षेत्रीय तथा विश्व नेतृत्वसँग निरन्तर संवादमा रहनेछौं ताकि यी संरचनात्मक परिवर्तनहरूले पाकिस्तानका ग्राहक, विकासकर्ता र साझेदारहरूप्रति माइक्रोसफ्टको दीर्घकालीन प्रतिबद्धता कमजोर नबनोस्, बरु अझ बलियो होस्,” मन्त्रालयले जनाएको छ।
माइक्रोसफ्ट पाकिस्तानका पूर्वप्रमुख जव्वाद रहमानले बिहीबार लिंक्डइन पोस्टमार्फत कम्पनीको पाकिस्तानबाटको बहिर्गमनको जानकारी दिएका थिए।
“यो केवल एक कर्पोरेट बहिर्गमन होइन, यो हाम्रो देशले सिर्जना गरेको वातावरणको गम्भीर संकेत हो… जहाँ माइक्रोसफ्टजस्ता विश्वव्यापी कम्पनीहरूलाई पनि टिकिरहन असम्भव हुन्छ। यो हामीले छाडेको बलियो आधारलाई पछिल्ला टोली र क्षेत्रीय व्यवस्थापनले के गरे (वा नगरे) भन्ने कुरामा पनि प्रश्न खडा गर्छ,” रहमानले लेखेका छन्।
यो घटनाक्रम त्यतिबेलामा भएको हो जब पाकिस्तानको संघीय सरकारले हालै मात्र गुगल र माइक्रोसफ्टजस्ता प्रविधि कम्पनीमार्फत पाँच लाख युवालाई सूचना प्रविधि प्रमाणपत्र दिने योजना घोषणा गरेको छ। यो कदम गुगलको गत वर्ष सार्वजनिक शिक्षा क्षेत्रमा गरिएको १ करोड ५ लाख डलरको लगानी र सन् २०२६ सम्म पाकिस्तानमा ५ लाख क्रोमबुक उत्पादन गर्ने योजनासँग ठोक्किएको देखिन्छ।
माइक्रोसफ्टको यो बहिर्गमन पाकिस्तानको प्रविधि क्षेत्रमा रहेका गहिरा चुनौतीको संकेत मानिएको छ। भारतजस्ता देशहरूमा पश्चिमी प्रविधि कम्पनीहरूको लागि प्रमुख इन्जिनियरिङ आउटसोर्सिङ गन्तव्य बनेका भए पनि पाकिस्तानमा त्यस्तो अवस्था बन्न सकेको छैन।
यहाँको प्रविधि क्षेत्रमा मुख्य रूपमा दुई समूह हावी छन्—आफ्नै इन्जिनियरिङ क्षमता विकास गरेका स्थानीय कम्पनीहरू र हुवावे जस्ता चिनियाँ कम्पनीहरू जसले टेलिकम कम्पनी र बैंकहरूलाई उच्चस्तरीय पूर्वाधार सेवा दिँदै बजार हिस्सा लिएका छन्।
पाकिस्तानको आईटी मन्त्रालयले यसबारे प्रतिक्रिया नदिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: २२ असार २०८२, आईतवार