बेलायतमा जुन महिनाको टेस्ला बिक्रीको आँकडा गत वर्षको तुलनामा बढ्यो: रिपोर्ट

  • Technology Khabar | २२ असार २०८२, आईतवार
बेलायतमा जुन महिनाको टेस्ला बिक्रीको आँकडा गत वर्षको तुलनामा बढ्यो: रिपोर्ट

काठमाडौं ।

टेस्लाको नयाँ कार बिक्री बेलायतमा जुन महिनामा गत वर्षको तुलनामा बढेको देखिएको छ। अमेरिकी कार निर्माता कम्पनी टेस्लाले गएको महिना अपडेट गरिएको मोडल वाईको वितरण सुरु गरेसँगै विद्युतीय सवारीको बजारमा सुधार देखिएको हो।

बेलायती मोटर उत्पादक तथा व्यापारी संघ (एसएमएमटी) ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार बेलायतमा जुन महिनामा नयाँ कार दर्ता ६.७ प्रतिशतले बढेर १ लाख ९१ हजार ३१६ पुगेको छ। यो वृद्धिमा ब्याट्रीबाट चल्ने कारप्रतिको मागको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।

यद्यपि यो बिक्री दर कोभिड महामारीअघि भन्दा अझै कम नै छ, तर यो २०१९ यताकै सबैभन्दा राम्रो जून महिना भएको एसएमएमटीले जनाएको छ। ब्याट्री इलेक्ट्रीक कारको माग ३९ प्रतिशतले बढेर ४७ हजार ३५४ युनिट पुगेको छ, जहाँ प्रत्येक चार खरिदकर्तामध्ये एक जनाले विद्युतीय सवारी रोजेका छन्।

“विद्युतीय सवारीको यो वृद्धिलाई अझै पनि औद्योगिक सहायताले अगाडि बढाइरहेको छ। उत्पादनकर्ताहरूले विभिन्न माध्यम र दिगो नभएको छुटमार्फत बजार सक्रिय बनाइरहेका छन्, तर यो अझै तोकिएको लक्ष्यभन्दा तल छ,”एसएमएमटीका प्रमुख कार्यकारी माइक हजले भनेका छन्।

एसएमएमटीका अनुसार टेस्लाले जुन महिनामा ७ हजार ७१९ युनिट बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा १४ प्रतिशतले बढी हो। अनुसन्धान संस्था न्यू अटोमोटिभले दिएको छुट्टै तथ्याङ्कअनुसार, टेस्लाको बिक्री जुन महिनामा १२ प्रतिशतले बढेर ७ हजार ८९१ युनिट पुगेको छ।

यी दुई संस्थाले अलग स्रोत र गणनाका विधि प्रयोग गर्ने भएकाले तथ्याङ्कमा फरक देखिएको हो।

रोयटर्सका अनुसार जुन महिनाको वृद्धिपछि पनि सन् २०२५ को हालसम्मको अवधिमा टेस्लाको बेलायती बजारमा बिक्री लगभग २ प्रतिशतले घटेको छ। जबकि चिनियाँ प्रतिस्पर्धी बीवाईडीको बिक्री चारगुना बढेर २ हजार ४९८ युनिट पुगेको न्यू अटोमोटिभले जनाएको छ।

अमेरिकी कार निर्माता फोर्डले भने २०२५ को पहिलो छ महिनामा बेलायतमा सबैभन्दा तीव्र विद्युतीय सवारी वृद्धिदर हासिल गरेको छ। फोर्डको बिक्री गत वर्षको तुलनामा चारगुना बढी भएको न्यू अटोमोटिभले जनाएको छ।

“बिक्री र यस क्षेत्रमा अझ वृद्धि गर्नका लागि व्यापक र सुधारिएको चार्जिङ पूर्वाधार आवश्यक छ,” डेलोइटमा अटोमोटिभ पार्टनर तथा विद्युतीय सवारी प्रमुख जेमी ह्यामिल्टनले बताएका छन्।

यसै साता लागु भएको अमेरिका-बेलायत व्यापार सम्झौताअनुसार अब बेलायती कार उत्पादकहरूलाई अमेरिका निर्यात गर्दा कर छुट पाउने भएका छन्। पहिले २७.५ प्रतिशत थियो भने अब त्यो १० प्रतिशत मात्र लाग्नेछ।

प्रकाशित: २२ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार