Technology Khabar २१ असार २०८२, शनिबार
काठमाडौं ।
अत्यन्त विशाल ताराहरू विस्फोटपछि ब्ल्याक होल बन्ने गर्छ। यी विशाल ताराहरुले यसअघि गरिएको अनुमानभन्दा धेरै मात्रामा पदार्थ फाल्ने रहेछन् भन्ने नयाँ अनुसन्धानले देखाएको छ।
सूर्यको तुलनामा १०० गुणा वा बढी भार भएका यस्ता ताराहरूलाई मिलाएर बुझ्न वैज्ञानिकहरूको एक टोलीले यस्तो ताराको स्टेलर विण्ड अर्थात् ताराद्वारा बाहिर पठाइने ग्यास प्रवाह यसअघिको अनुमानभन्दा धेरै शक्तिशाली हुनुपर्ने निष्कर्ष निकालेका छन्।
यी वायुप्रवाहहरू यति शक्तिशाली हुने बताइएको छ कि तिनले ताराका बाहिरी तहहरू नै अन्तरिक्षमा उडाइदिन सक्छन्।
टोलीको मोडलिङले दुई ताराको गाभिनबाट कसरी एकल विशाल तारा बन्न सक्दछ भन्ने देखायो। साथै, यस्ता शक्तिशाली वायुप्रवाहले ब्ल्याक होलको संख्या र स्वरूपमा पार्ने असर पनि देखाइएको छ, जसले दुर्लभ इन्टरमिडियट मास ब्ल्याक होल को निर्माण हुने सम्भावनालाई कमजोर पार्ने स्पेस डटकमले उल्लेख गरेको छ।
“यस्ता विशाल तारा ब्रह्माण्डका ‘रक स्टार’ जस्ता हुन्छन् — शक्तिशाली, छिटो बाँच्ने र चाँडै मर्ने,” इटालीको इन्स्टिच्युट फर एडभान्स्ड स्टडी (एसआईएसएसए) की शोधकर्ता केन्डल शेफर्डले भनिन्। “यी ताराहरूको स्टेलर विण्ड हल्का हावाको झोकाजस्तो नभई आँधीबेहरी झैँ हुन्छ।”
सामान्य सूर्यले १० अर्ब वर्षजति बाँच्ने अपेक्षा गरिन्छ, तर अत्यन्त विशाल ताराहरूको जीवन केही लाख वर्ष मात्र हुने वैज्ञानिकहरूको भनाइ छ। यिनीहरू छोटो समयमा नै आफ्नो इन्धन सकाउँछन्।
शेफर्डका अनुसार, यस्ता तारा छोटो समय बाँचे पनि आफ्नो वातावरणमा गहिरो असर पार्छन्। “यिनीहरूको शक्तिशाली वायुप्रवाह र अन्त्यमा हुने सुपरनोभा विस्फोटले नवगठित तत्वहरू बाहिर फाल्दछ। ती तत्वहरूमध्ये केही नयाँ ताराहरू बनाउन प्रयोग हुन्छन् भने कार्बन र अक्सिजनजस्ता केही तत्व जीवनका आधार हुन्,” उनले भनिन्। “यी तारा नै ब्ल्याक होलका पूर्वरूप हुन्, जसबाट ब्ल्याक होलहरू गाभिँदा हामी पृथ्वीमा गुरुत्वाकर्षणीय तरङ्ग महसुस गर्छौं।”
शोधकर्ताहरूले यी तारासम्बन्धी सैद्धान्तिक र अवलोकनात्मक अध्ययनहरू विश्लेषण गरेका थिए। “यस्ता अत्यन्त भारी तारा निकै दुर्लभ हुन्छन्, र पहिले पर्याप्त अवलोकनात्मक प्रमाण थिएन,” शेफर्डले भनिन्। “तर हालै अन्तरिक्ष तथा भू-आधारित दूरबिनहरूको मद्दतले वैज्ञानिकहरूले पहिलोपटक लार्ज म्यागेल्यानिक क्लाउडको ट्यारान्टुला निहारिकामा मा १०० गुणाभन्दा गह्रुङगो तारा प्रत्यक्ष अवलोकन गर्न सफल भएका छन्।”
यी तारा तातो र चम्किला वुल्फ-रायेट ताराहरू हुन्, जो हाइड्रोजन जलाउने अन्तिम चरणमा रहेका छन् र सतहमा बाँकी रहेको हाइड्रोजन देखिन्छ। तिनीहरूको तापक्रम ४०,००० देखि ५०,००० डिग्री सेल्सियस रहेको पाइयो — जुन निकै उच्च ताप हो। साधारण मोडेलअनुसार तारा बुढो हुँदै जाँदा तातोबाट चिसो हुँदै जानुपर्ने भए पनि अवलोकनले उल्टो कुरा देखाएको थियो।
वैज्ञानिकहरूले त्यसलाई आधार बनाएर एउटन नयाँ मास-लस रेसिपी तयार गरे जसले तारा कसरी समयसँगै आफ्नो भार गुमाउँछ भन्ने दर्शाउँछ। त्यसलाई पार्सेक नामक तारकीय विकास मोडेलमा समावेश गरियो।
“हामीले बनाएको नयाँ मोडेल अवलोकनसँग मेल खान थाल्यो,” शेफर्डले भनिन्। “शक्तिशाली वायुप्रवाहले ताराको बाहिरी तह हटाउँछ, जसले गर्दा तारा चिसो नहुँदै तातो र सघन अवस्थामा रहन्छ — जस्तोगरी अवलोकनमा देखिएको थियो।”
सूर्यको २३० गुणासम्म भार भएको सबैभन्दा विशाल तारा आर१३६ए१ अत्यन्त विशाल तारा एकल वा दुई तारा गाभिएर बनेको रूपमा दुई तरीकाबाट बनेको हुन सक्दछ भन्ने शोधले देखाएको छ।
“हाम्रो परिणामले आर१३६ए१ को उत्पत्तिका दुई सम्भावित मार्ग देखाएकोमा म अचम्मित भएँ,” शेफर्डले भनिन्। “विशेष गरेर, यस्ता गाभिएका ताराले त्यति ठूलो प्रारम्भिक भार नचाहिने देखियो। तर यदि त्यो तारा एकल रूपमा बनेको हो भने, सुरुवाती भार १०० भन्दा बढी सौर्यमान हुनु आवश्यक थियो।”
शेफर्डका अनुसार, यसले स्थानीय ब्रह्माण्डमा तारा कति विशाल हुन सक्छ भन्ने हाम्रो सोचमा पुनर्विचार गर्नुपर्ने संकेत दिन सक्छ।
प्रकाशित: २१ असार २०८२, शनिबार