एप्पलले सिरि एआई फिचर सम्बन्धि मुद्दा २५ करोड डलरमा मिलायो

  • Technology Khabar | २६ बैशाख २०८३, शनिबार
एप्पलले सिरि एआई फिचर सम्बन्धि मुद्दा २५ करोड डलरमा मिलायो
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले आफ्नो सिरि भ्वाइस असिस्टेन्टका कृत्रिम बुद्धिमत्ता (एआई) अपग्रेड ढिलो गरेपछि दायर गरिएको उपभोक्ता सामूहिक मुद्दा मंगलबार २५ करोड डलरमा मिलाएको छ।

सन् २०२४ मा अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा पिटर ल्यान्डशेफ्टले दायर गरेको उक्त मुद्दा, आइफोन निर्माता एप्पलले २०२४ को वार्षिक सफ्टवेयर डेभलपर सम्मेलनमा विभिन्न एआई अपग्रेड घोषणा गरेपछि सुरु भएको थियो। कम्पनीले ती फिचरहरू त्यही वर्ष सार्वजनिक हुने नयाँ आइफोनसँग उपलब्ध हुने भन्दै विज्ञापनसमेत चलाएको थियो।

तर आइफोन ती फिचर बिना नै सार्वजनिक गरियो, जसले सेयरधनीलाई नोक्सानी पुगेको दाबी मुद्दाकर्ताहरूले गरेका थिए। सन् २०२५ मा एप्पलले सिरिको एआई सुधार यस वर्षसम्म नआउने जनाएको थियो, र कम्पनीका अधिकारीहरूले अब नयाँ सिरि फिचरहरू अर्को महिना हुने एप्पलको वार्षिक डेभलपर सम्मेलनमा सार्वजनिक गरिने पुष्टि गरेका छन्।

रोयटर्सका अनुसार सम्झौतामा एप्पलले कुनै गल्ती स्वीकार गरेको छैन। यो सम्झौता अझै न्यायाधीशबाट अनुमोदन हुन बाँकी छ।

एप्पलले विज्ञप्तिमा सन् २०२४ मा ‘एप्पल इन्टेलिजेन्स’ सार्वजनिक गरेयता अन्य धेरै एआई फिचरहरू जारी गरिएको जनाएको छ।

“दुई अतिरिक्त फिचरको उपलब्धतासँग सम्बन्धित दावी समाधान गर्न एप्पलले सम्झौता गरेको हो। हामीले यो विषय समाधान गरेका छौं ताकि हामी आफ्नो मुख्य काम अर्थात् प्रयोगकर्तालाई सबैभन्दा नवीन उत्पादन र सेवा उपलब्ध गराउने कार्यमा केन्द्रित रहन सकौं,” कम्पनीले विज्ञप्तिमा भनेको छ।

प्रकाशित: २६ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार