दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदको लागि दरखास्त माग, यस्तो छ न्यूनतम योग्यता

  • Technology Khabar | २६ बैशाख २०८३, शनिबार
दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदको लागि दरखास्त माग, यस्तो छ न्यूनतम योग्यता

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदको लागि दरखास्त माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचनामार्फत अध्यक्ष र ४ जना बोर्ड सदस्य पदका लागि ११ दिनको अवधि तोकेर दरखास्त माग गरेको हो।

सूचनाअनुसार दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदमा दरखास्त दिनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा ५ को उपदफा (१) बमोजिमको अध्यक्षको हकमा दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक/प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने  आवश्यक न्यूनतम योग्यता तोकिएको छ।

त्यसैगरी दरखास्त पेश गर्ने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ भने दूरसञ्चार ऐन, २०५३ को दफा ५ को उपदफा (१) बमोजिमको सदस्यको हकमा दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक वा प्रशासनिक क्षेत्रबाट (एकजना), बजार व्यवस्थापन क्षेत्रबाट (एकजना), लेखा तथा लेखापरीक्षण क्षेत्रबाट (एकजना) र कानूनी क्षेत्रबाट (एकजना) छनोट गरिने उल्लेख छ।

सोको लागि सम्बन्धित क्षेत्रको मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उपाधि हासिल गरी कम्तिमा सात वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ।

यसैगरी कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको, प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ।

यस्तै उम्मेद्वारहरुले दरखास्तसाथ संलग्न ढाँचा बमोजिमको आवेदन र दरखास्त फाराम, नेपाली नागरिकतार राष्ट्रिय परिचयपत्रको प्रमाणपत्रको प्रतिलिपि, योग्यता समेत खुल्ने व्यक्तिगत विवरण (Bio data), शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षता प्रमाणपत्र समेत), अनुभवको अवधि समेत खुल्ने कागजातको प्रतिलिपी, नेपाली वा अङ्ग्रेजी भाषामा A4 Size कागजमा तयार गरिएको ३००० देखि ५००० शब्दको शिलबन्दी व्यावसायिक कार्ययोजना, हालसालै खिचेको दुई प्रति पासपोर्ट साइजको फोटो र तोकिए बमोजिम स्वघोषणा फाराम बुझाउनुपर्नेछ।

यस्तै शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रमा स्वयंले हस्ताक्षरसहित प्रमाणित गरेको हुनुपर्नेछ।

संलग्न ढाँचा बमोजिमको आवेदन र दरखास्त फाराम र संलग्न ढाँचा बमोजिमको स्वघोषणासहित मन्त्रालयको संस्थान समन्वय शाखामा २०८३ जेठ ५ गते मंगलबार भित्र बुझाउन भनिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदको लागि दरखास्त आह्वान सम्बन्धी सूचना_ktsofrx

 

प्रकाशित: २६ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...