Technology Khabar ११ असार २०८२, बुधबार
काठमाडौं ।
नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढ्ने प्रवृत्तिले २०८२ जेठ महिनामा पनि निरन्तरता पाएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को २०८२ जेठ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब ९० करोड ५५ लाख ९९ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ७ लाख २७ हजार ७४२ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
वैशाख महिनासम्म नेपालमा १ अर्ब ५१ करोड ५४ लाख २५ हजार रुपैयाँ बराबरको ५ लाख ८४ हजार २७५ थान राउटर आयात भएकोमा एक महिनाको अवधिमा ३९ करोड १ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ४३ हजार ४६७ ले बढेर समग्रमा राउटर आयातको सङ्ख्या ७ लाख २७ हजार ७४२ थान पुगेको छ। यसैगरी यसका लागि समग्रमा १ अर्ब ९० करोड ५५ लाख ९९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ।
सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा ३५ करोड ३९ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पहिलेका महिनामा झैं छिमेकी चीन र भारतसहित विश्वका जम्मा १५ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट १ अर्ब ४५ करोड २१ लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ७७ हजार ०४१ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ४४ करोड ४० लाख १६ हजार बराबरको १ लाख ४८ हजार ९२८ थान, भारतबाट १४ लाख ३४ हजार बराबरको ८०१ थान, ताइवानबाट ६६ लाख ८७ हजार बराबरको ९०८ थान र इटलीबाट २ लाख ४२ हजार बराबरको ५० थान राउटर आयात भएको छ।
यस्तो छ विवरण
| क्र.सं. | देश | विवरण | रकम हजारमा |
| १ | चीन | ५७७०४१ | १४५२१३६ |
| २ | भियतनाम | १४८९२८ | ४४४०१६ |
| ३ | ताइवान | ९०८ | ६६८७ |
| ४ | भारत | ८०१ | १४३४ |
| ५ | ईटली | ५० | २४२ |
यसैगरी चेक रिपब्लिक, फ्रान्स, पोर्चुगल तथा अमेरिकाबाट समान २-२ थान तथा अस्ट्रेलिया, क्यानडा, हङकङ, मेक्सिको, कतार र सिंगापुरबाट समान १-१ राउटर आयात भएका छन्।
प्रकाशित: ११ असार २०८२, बुधबार