चराहरुलाई परको ठाउँ वा देशसम्म पुगेर आफ्नै ठाउँ फर्कन कुन नेभिगेशन प्रविधिले सघाउँछ? यसको रहस्य के हो?

  • Technology Khabar | ५ असार २०८२, बिहीबार
चराहरुलाई परको ठाउँ वा देशसम्म पुगेर आफ्नै ठाउँ फर्कन कुन नेभिगेशन प्रविधिले सघाउँछ? यसको रहस्य के हो?

काठमाडौं ।

हरेक वर्ष अर्बौं चराहरु विभिन्न ठाउँबाट धेरै परको अर्को ठाउँ वा देशसम्म उडेर पुग्छन् र फर्कन्छन्। विश्वभरका चरा आफ्नो ऋतुअनुसारको गन्तव्य पुग्न हजारौं माइल यात्रा गर्छन्। आर्कटिक टर्नजस्ता केही चरा त जीवनभरमा चन्द्रमासम्म गई फर्कन सक्ने दुरी पार गर्छन्।

तर यस्ता लामो यात्रामा चराहरुले आफ्नो गन्तव्य कहाँ हो र त्यहाँसम्म पुग्ने बाटो कुन हो भनेर कसरी थाहा पाउँछन्? प्रश्न साधारण तथा गम्भीर छ।

चराहरूसँग आफूलाई मार्गदर्शन गर्नका लागि धेरै किसिमका इन्द्रियहरू छन् — केही हामीलाई थाहा छन् भने केही अझै पनि मानव बुझेको सीमा बाहिर छन्।

“चराहरुले आफ्नो प्रवासनको दिशा कायम राख्न विभिन्न संकेतहरू प्रयोग गर्छन्,” जर्मनीको इन्स्टिच्युट अफ एभियन रिसर्चकी निर्देशक मिरियम लिडभोगलले बताइन्।

चराले बाटो खोज्न प्रयोग गर्ने आधारभूत संकेतहरू दृष्टि र गन्ध हुन्। यदि चराले एकपटक प्रवास गरिसकेका छन् भने उनीहरूले नदी वा हिमाल जस्ता चिनिने भू-भाग सम्झन सक्छन्। तर पानीमाथि यात्रा गर्ने चराहरूले यस्ता चिनिने स्थल कम पाउँछन्। यस्तो अवस्थामा उनीहरू गन्धमा बढी भर पर्न सक्छन्।

शोधकर्ताहरूले स्कोपोली’स शीयरवाटर नामका समुन्द्री चराहरूको नाकको मार्ग अवरुद्ध गरेपछि ती चरा जमिनमाथि त उड्न सके तर समुद्रमाथि दिशा छुट्याउन नसकेको एक अध्ययनले देखाएको छ।

चराहरूले सूर्य र ताराहरूलाई पनि गाइडका रूपमा प्रयोग गर्छन्। दिनको समयमा उड्ने चराहरू “सूर्य कम्पास” प्रयोग गर्छन्, जसमा सूर्य आकाशको कुन ठाउँमा छ भन्ने दृष्टिकोण र उनीहरूको शरीरको घडी (सर्काडियन रिदम) को संयोजन हुन्छ। यी दुई संकेतको मेलबाट चराले आफ्नो दिशा निर्धारण गर्छन्।

कृत्रिम प्रकाशले चराको सर्काडियन रिदम गडबड गराउँछ, जसले उनीहरूलाई साँचो बाटो छुट्याउन असमर्थ बनाउँछ भन्ने अनुसन्धानले देखाएको छ।

तर धेरैजसो चरा रातमा प्रवास गर्छन्, जसले गर्दा सूर्यको स्थान उपयोगी हुँदैन। यस्तो अवस्थामा उनीहरूले ताराहरूको स्थिति र घुमाइको आधारमा बाटो फेला पार्छन्। तारा कम्पास प्रयोग गर्नका लागि उनीहरूले आकाशीय ध्रुव वरपरको तारा स्थिति सिकेका हुन्छन्, जुन प्रायः पोलारिस (उत्तर तारा) ले जनाउँछ — त्यही तारा जसको भरमा मानवहरूले पनि हजारौं वर्षदेखि दिशा छुट्याएका छन्।

चुम्बकीय क्षेत्र

आकाश बादलले ढाकिएको हुन्छ, सूर्य, तारा वा चिनिने स्थल केही नदेखिँदा के हुन्छ त? त्यस्तो बेलामा चराको अद्भुत इन्द्रियहरू प्रयोगमा आउँछ। तिनीहरू सूर्य वा तारा नदेखिएको अवस्थामा पनि बाटो पत्ता लगाउन सक्छन्, जसको श्रेय जान्छ एक विशेष संवेदन क्षमतालाई जसलाई “म्याग्नेटोरेसेप्सन” भनिन्छ।

यसले चरालाई पृथ्वीको चुम्बकीय क्षेत्र महसुस गर्न सक्षम बनाउँछ, जुन हाम्रो ग्रहको केन्द्रको पग्लिएको धातुबाट उत्पन्न हुन्छ। चुम्बकीय क्षेत्रको छेउछाउ गडबड गर्दा चराको दिशा छुट्याउने क्षमता गुम्छ भन्ने अनुसन्धानले देखाएको छ। उदाहरणका लागि परेवाहरु वरपरको चुम्बकीय क्षेत्र परिवर्तन गर्दा उनीहरू आफ्नो घर फर्किन सकेनन्।

चराले यो म्याग्नेटोरेसेप्सन कसरी गर्छन् भन्ने कुरा अझै स्पष्ट छैन। अक्सफोर्ड विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक पिटर होरले बताएअनुसार, यसमा कुनै रासायनिक प्रतिक्रिया संलग्न हुन्छ जुन पृथ्वीको चुम्बकीय क्षेत्रको दिशा र तीव्रतामा निर्भर हुन्छ। केही सम्भावित सिद्धान्त छन्, तर होरको अनुमान अनुसार मुख्य भूमिका “क्रिप्टोक्रोम” नामक अणुले खेल्छ, जुन चराको रेटिनामा पाइन्छ।

क्रिप्टोक्रोम चुम्बकीय क्षेत्रप्रति संवेदनशील हुन्छ र यसका लागि निलो प्रकाश आवश्यक पर्छ, जुन म्याग्नेटोरेसेप्सनमा पनि आवश्यक देखिएको छ भन्ने कुरा अनुसन्धानकर्ताहरूले प्रयोगशालामा पत्ता लगाएका छन्। तर क्रिप्टोक्रोमले पृथ्वीको झिनो चुम्बकीय क्षेत्र कसरी यति सटीक महसुस गर्छ भन्ने कुरा अझै पत्ता नलागेको लाइभसाइन्सले उल्लेख गरेको छ।

“हामीलाई थाहा छैन चराको आँखामा कति क्रिप्टोक्रोम अणुहरू छन् भन्ने पनि,” होरले भने।

अरू केही अनुसन्धानहरूले चराको ठुँटोमा पनि म्याग्नेटोरेसेप्सनको सम्भावना देखाएका छन्। त्यहाँ म्याग्नेटाइट (फलाम-आधारित खनिज) सँग अन्तर्क्रिया गर्ने रिसेप्टरहरू फेला परेका छन्, जुन मस्तिष्कसँग जोडिने तन्तुबाट जोडिएका हुन्छन्, र यिनले चुम्बकीय क्षेत्रको तीव्रता मापन गर्ने अर्को तरिका प्रदान गर्न सक्छन्।

यसबाहेक, चराले ध्रुवीकृत प्रकाशको प्रयोग गरेर पनि दिशा फेला पार्न सक्छन् — यस्तो प्रकाश जसको तरंग निश्चित दिशामा यात्रा गर्छ। सूर्यको प्रकाश जब पृथ्वीको वायुमण्डलबाट छरिन्छ, यसमा ध्रुविकरण हुने निश्चित ढाँचाहरू देखिन्छन्। चराले आफ्ना विशेष रेटिनाको कोषमार्फत यिनलाई महसुस गर्छन् जसले तिनीहरूलाई बादल लाग्दा पनि सूर्य कहाँ छ भन्ने जानकारी दिन्छ।

सबै संकेतको मेल

जसरी हामी उज्यालोमा दृष्टिमा भर पर्छौं तर अँध्यारोमा हातको सहाराले बाटो खोज्छौं, चराहरू पनि फरक-फरक समयमा फरक-फरक इन्द्रिय प्रयोग गर्छन्।

“चराहरू सम्भवतः यी सबै संकेतहरूलाई एकसाथ उपयोग गर्छन् — र हामी प्रायः पक्का छौं कि ती संकेतहरूको महत्त्व यात्रा भरि परिवर्तन हुन्छ,” लिडभोगलले भनिन्।

होरले पनि बताएझैं, म्याग्नेटोरेसेप्सन जस्तो क्षमता आकाशीय आँधी वा सूर्य गतिविधिमा आउने गडबडीले प्रभावित हुन सक्छ।
अन्ततः, यी सबै रणनीतिहरू चराको आनुवंशिक रुपमा रहेको प्रवासन प्रवृत्तिमा आधारित हुन्छन्।

लिडभोगलका अनुसार, प्रवासनको इच्छाशक्ति चरा आमाबाबुबाट पाउँछन्, र उनीहरूको उडानको दूरी र दिशा मुख्यतया अनुवांशिक रूपमा निर्धारण हुन्छ। कुन जीनले यो नियन्त्रित गर्छ भन्ने कुरा वैज्ञानिकहरू अझै खोजिरहेका छन्।

दुवै वैज्ञानिकहरूले चराको यी प्रणालीहरू बुझ्नु संरक्षणको भविष्यका लागि महत्त्वपूर्ण रहेको बताए। चराको पुनर्स्थापना वा पुनर्जननीकरण हाल संरक्षणको केन्द्रमा रहेको तर परिणामहरू मिसिएको पाइने बताएक छन्। एक विश्लेषणले देखाएको छ कि ४५ प्रतिशत प्रयासमा चरा पुनः स्थानबाट उडेर फर्केका छन्।

“मानवले ती चराहरूलाई सार्न खोज्दा खासै सफलता मिलेको छैन,” होरले भने। “किनभने तिनीहरू यति सटीक नेभिगेटर हुन् कि जतातिर राखे पनि आफैँ घर फर्कन्छन्।”

प्रकाशित: ५ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • ५ असार २०८२, बिहीबार