काठमाडौं ।
अर्थ सचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्।
नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’ कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रका चुनौतीबारे बोल्दै अर्थसचिव उपाध्यायले यस्तो बताएका हुन्।
उनले नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि सुस्त रहेको जानकारि दिदैँ पछिल्ला २५ देखि ४० वर्षको औषत आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम रहेको र कोभिड–१९ को समयमा आर्थिक वृद्धि ऋणात्मक भएकोे उल्लेख गरे।
अर्थसचिव उपाध्यायले कमजोर निजी लगानी, घट्दो पूँजीगत खर्च, उच्च व्यापार घाटा र न्यून उत्पादकत्वलाई अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेका छन्। स्वदेशी निजी लगानी र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउन लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ।
सरकारको पूँजीगत खर्चलाई प्रभावकारी रूपमा परिचालन गर्न सके रोजगारी सिर्जना, आर्थिक वृद्धि र निजी लगानी विस्तारमा सहयोग पुग्ने बताउँदै नेपालको व्यापारमा करिब ९० प्रतिशत आयात र १० प्रतिशत निर्यात हुने अवस्था रहेको उल्लेख गर्दै उत्पादन तथा निर्यात बढाउनुपर्नेमा जोड दिए।
यद्यपि, नेपालमा रेमिट्यान्स वृद्धि, जलविद्युत् विस्तार, मध्यम मुद्रास्फीति, न्यून ब्याजदर र पर्याप्त तरलताजस्ता सकारात्मक पक्ष रहेको जानकारी दिए। सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै त्यसलाई उत्पादकत्व, औद्योगिकीकरण र पूर्वाधार विकासमा उपयोग गर्नुपर्ने धारणा राखे।
रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके रोजगारी र आर्थिक वृद्धिमा योगदान पुग्ने उनले बताए। सरकारले अघि बढाएको वैकल्पिक विकास वित्त कोषमार्फत सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि जानकारी दिए।
नेपालले जलविद्युत् उत्पादनलाई औद्योगिकीकरणसँग जोड्नुपर्ने र वैदेशिक रोजगारीलाई सीप तथा उच्च आम्दानीमा आधारित बनाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै नेपाली उद्यमी मञ्चका ललितपुर च्याप्टरका अध्यक्ष अनुकुल श्रेष्ठले सरकारको पोलीसी र युवा उद्यमीहरुको सरोकार र समस्याकोविचमा ठूलो खाडल रहेकोले यसको परिपुर्तिका लागि थिंकट्यांक सिरिज आवश्यक रहेको बताएका छन्।
प्रकाशित: ५ आश्विन २०८३, सोमबार