Technology Khabar ३ असार २०८२, मंगलवार
काठमाडौं ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ।
प्रतिनिधि मण्डलले आउँदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरीदिन औपचारिक रुपमा आग्रह गरेको छ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोबाइल क्षेत्र लगायत समग्र निजीक्षेत्रमैत्री बजेट आएको बताए।
छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भइरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे।
छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दे नेपालका अटोमोबाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नु पर्ने बताए।
उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।
प्रकाशित: ३ असार २०८२, मंगलवार