नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई

Technology Khabar २८ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ।

मास्के सबैभन्दा सिनियर र प्राविधिक पनि भएका कारण यो जिम्मेवारी दिइएको टेलिकम स्रोतले बताएको छ।

यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्।

मास्केलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले पुष्टि गरे। उनले भने, ‘केही दिन यता रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा हाल सविना मास्केलाई निमित्तको जिम्मेवारी दिइएको हो।’

यसैबीच, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति आज बसेको मन्त्रीस्तरीय बैठकले मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको कम्पनीले जनाएको छ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सविना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेकी छिन्। उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त हुएकी थिइन्।

पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

यसअघि कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीमाथि गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि टेलिकम प्रमुखविहीन रहँदै आएको थियो।

अख्तियारले टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित विनिता श्रेष्ठ, सुनील पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालिविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरु विरुद्ध रु ३३ करोड ४८ लाख १७ हजार ४३० बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो।

सम्बन्धित समाचार-

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनामाथि भ्रष्टाचार मुद्दा, साढे ३३ करोड माग दावी

प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया