एसईई दिएका विद्यार्थी लक्षित सिजन ७ को ‘वेबसाइट प्रतियोगिता’ शुरू

Technology Khabar २८ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता शुरू गरेको छ। यस वर्षको प्रतियोगिता २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि मात्र खुला गरिएको आयोजकले जानकारी दिएको छ।

विद्यार्थीहरूले आफ्नो सिर्जनामा आधारित वेबसाइट तयार गरी जेठको अन्तिम साता भित्र बुझाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने बताइएको छ।

लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलका अनुसार, यो प्रतियोगिता केवल वेबसाइट बनाउने अभ्यास मात्र नभई जीवन बनाउने प्लेटफर्म हो। ‘हामी यो कार्यक्रममार्फत विद्यार्थीहरूलाई किताबको पाना मात्र होइन, व्यवहारको प्लेटफर्ममा लैजान चाहन्छौँ,’ पोखरेलले भने, ‘सूचना प्रविधि सिक्न एउटा सीप हो, तर त्यसलाई प्रयोग गरेर सोच बदल्नु दृष्टिकोण हो। हामी त्यो दृष्टिकोण दिन चाहन्छौं।’

कार्यक्रम संयोजक लक्ष्मी खत्रीले यो प्रतियोगिता केवल कम्प्युटर चलाउने कुरा मात्र नभई विद्यार्थीले वेबसाइट बनाउने सीपसँगै आफ्नो सोच प्रस्तुत गर्न सक्ने आत्मविश्वास र सार्वजनिक प्रस्तुतीकरणको अभ्यास पनि सिक्ने बताइन्। उनका अनुसार प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई प्राविधिक अभिमुखीकरण तालिम, मार्गदर्शन सामग्री, र युनिक कोड प्रदान गरिनेछ, जसको माध्यमबाट मूल्याङ्कन सहज र पारदर्शी तरिकाले गरिनेछ।

कम्पनीकाअनुसार, प्रतियोगितामा पठाइएका वेबसाइटहरू मध्येबाट उत्कृष्ट २० जना विद्यार्थीहरू छनोट गरिनेछन्, जसबाट अन्ततः एक जनालाई मुख्य विजेता घोषणा गरिनेछ। विजेतालाई ल्यापटप प्रदान गरिनेछ भने अन्य उत्कृष्ट स्थान प्राप्त गर्नेहरूलाई पेन्ड्राइभ तथा अन्य सूचना प्रविधिसम्बन्धी सामग्रीहरू पुरस्कारस्वरूप प्रदान गरिनेछ।

गत वर्ष सम्पन्न सिजन ६ मा देशभरका विभिन्न जिल्लाबाट १,१०२ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा हिमालयन एकेडेमी सामाखुसीका विद्यार्थी योगेश स्माली मुख्य विजेता भएका बताईएको छ।

प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरूले लाइफ कम्प्युटरको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरी वा अनलाइन माध्यमबाट आवश्यक जानकारी लिएर सहभागिता जनाउन सक्नेछन्।

संगठनका अनुसार प्रतियोगिताको अन्तिम मूल्याङ्कनपछि विजेताको घोषणा असारको दोस्रो साता कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया