Technology Khabar २८ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
यस वर्षको डब्लूडब्लूडीसी सम्मेलनमा सबैभन्दा पहिला दुई वर्षअघि सार्वजनिक गरिएको एप्पलको भिजन प्रो हेडसेटमा आउने नयाँ भिजनओएस फिचरहरूबारे घोषणा गरिएको छ। नयाँ डिजाइन अपडेटहरू र नयाँ नाम (भिजनओएस २६) का साथै विभिन्न नयाँ अपडेटहरु रहेका छन्।
भिजनओएसमा अब घडी, मौसम र फोटोजस्ता फ्लोट हुने विजेटहरू थपिनेछन्। यसका साथै, भिजनओएस मा नयाँ विजेट एप पनि आउनेछ। अब एपहरू स्पेसमा जहाँ राखिन्छ, त्यसको मेमोरी सिस्टम पनि अपडेट गरिएको छ।
स्पाटियल सीनको नयाँ फिचर भिजनओएस २६ मा आउँदैछ, जसले फोटोहरूलाई थ्रीडी बनाउन नयाँ तरिका दिनेछ। यो पहिले भएको स्वचालित थ्रीडी रूपान्तरण उपकरणको सुधारिएको संस्करण हो।
यसले दृश्यहरूमा अगाडि–पछाडि सर्न मिल्ने बनाउँछ, जसले गर्दा थ्रीडी अनुभव अझ जीवन्त हुन्छ। यो भिजन प्रोको पहिलो विज्ञापनहरूमा देखिएको शैलीजस्तै भएको सीनेटले उल्लेख गरेको छ।
एप्पलको थ्रीडी अवतारहरू अब झनै वास्तविकजस्तो देखिने गरी सुधार गरिएका छन् र कार्यक्रममा प्रस्तुत गरिएको यसबारेको छोटो डेमो निकै प्रभावशाली देखिएको थियो। एकै कोठामा बसेर सहकार्य गर्न मिल्ने नयाँ उपकरणहरू पनि आउनेछन्, जसले एआर अन्तर्क्रिया, खेल वा फिल्म हेर्ने अनुभवमा सहयोग पुर्याउनेछ।
यसमा स्पाटियल कन्ट्रोलर समर्थन पनि थपिएको छ जुन मेटा लगायतका अन्य हेडसेटहरूमा पहिल्यै उपलब्ध थियो। लजिटेक म्युज नामक स्टाइलसलाई भिजनमा समर्थन दिइनेछ जुन थ्रीडी स्टाइलस कार्यमा उपयोगी हुनेछ। प्लेस्टेशन भीआर२ का कन्ट्रोलरहरूले पनि अब भिजन प्रो गेमहरूमा काम गर्नेछन्।
सीनेटका अनुसार कन्ट्रोलर र स्टाइलस समर्थन भिजन प्रो सुरू भएदेखि चाहिएको फिचर हो र अब यसले धेरै खेल र एपहरूलाई एप्पलको प्लेटफर्ममा चलाउन सक्ने बनाउनेछ। यो कत्तिको प्रभावकारी हुन्छ भन्ने बारेमा अझ पर्खनु पर्नेछ।
प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार