
काठमाडौं ।
– साजन सुबेदी
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका पदाधिकारीहरु बिचको विवाद हाल उत्कर्षमा पुगेको छ। नयाँ कार्यसमिति चयनभएसँगै शुरु भएको विभिन्न खेमाबिचको द्वन्द्व हाल उत्कर्षमा पुगेको हो।
गत जेठ ४ गतेको बैठकमा ३ जना सचिव र वरिष्ठ उपाध्यक्ष चयन गर्ने योजनाका साथ अध्यक्ष सुनैना पाण्डे घिमिरेको नेतृत्वको खेमाले तयारी गरेसँगै बैठकमा चर्काचर्की र विवाद भएको थियो।
अहिले अध्यक्ष पाण्डे र महासचिव चन्द्र विलास भुर्तेल पक्षबिचमा विवाद चुलिएको देखिन्छ।
अन्य पदाधिकारीहरुले लिखितरुपमै बैठक सार्न माग गरेकोमा त्यसको सुनुवाई नगरी जबर्जस्ती बैठक राखेको भन्दै जिल्ला प्रशासन कार्यालयमा जेठ ५ गते ‘अवैधानिक निर्णय कार्यान्वयन नगरी संस्थाको विधान अनुसार काम गर्नको लागि निर्देशनात्मक आदेश जारी गरी पाऊँ’ भन्ने ब्यहोराको उजुरी परेको छ।
उक्त उजुरी अध्यक्ष पाण्डे खेमाको गतिबिधिसँग रुस्ट १६ जना पदाधिकारी तथा सदस्यहरुले दर्ता गराएका थिए।
यसअघि उक्त बैठकनै अवैधानिक भएको भन्दै महासचिव भुर्तेलले प्रेस विज्ञप्ती जारी गरिसकेका थिए।
हेर्नुस् समाचार-
क्यान महासंघ विवादः अध्यक्षले राखेको आजको बैठक अवैधानिक भएको भन्दै महासचिवको विज्ञप्ती
सोहीअनुसार क्यान महासंघका पदाधिकारी र सदस्यहरुले जिल्ला प्रशासन कार्यालय (सिडियो) मा निवेदन दर्ता गरेका हुन्। उनीहरुले अवैधानिक निर्णय कार्यान्वयन रोकि संस्थाको विधानअनुसार काम गर्नको लागि निर्देशनात्मक आदेश जारी गर्न माग गरेको देखिन्छ।
उक्त उजुरी पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत जेठ ५ गते नै कम्प्युटर एसोसिएसन नेपाल महासंघका नाममा उजुरीको विषयमा के कसो भएको हो पत्र प्राप्त भएको मितिले १० दिनभित्र खुलाई पठाइदिन आदेशानुसार अनुरोध’ गरेको पत्र पठाएको थियो।
यसबारेमा बुझ्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले क्यान महासंघलाई पत्र पठाईएको तर अहिलेसम्म जवाफ नआएको जानकारी टेक्नोलोजीखबरलाई दिएका छन्।
उनले भने, ‘पत्र पठाइसकिएको छ तर उताबाट जवाफ भने आइपुगेको छैन जस्तो लाग्छ। हामीले सोधेका छौं र बुझ्दै पनि छौं। उताबाट जवाफ आएपछि हाम्रो क्षेत्राधिकारमा कति विषय रहन्छ त्यसमा दुवै पक्षको कुरा सुनेर केही निर्देशन दिनुपर्ने देखिएमा हामी त्यसै अनुसार गर्नेछौ। हाललाई भने हामी जवाफको प्रतीक्षामा छौं।’
जेठ ६ गते सिडियो कार्यालयले पत्र काटेर १० दिन भित्र जवाफ पठाउन माग गरेको देखिन्छ। तर जेठ १५ गते भित्रमा उक्त पत्रको जवाफ पठाउनुपर्नेमा क्यान महासंघले पठाइनसकेको कार्यालयको भनाई छ। जवाफ आएमा आवश्यकता अनुसारको सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय तयार देखिन्छ।

यसैबीच सिडियो कार्यालयको उक्त पत्र क्यान महासंघमा दर्ता भएको देखिएको छ। उक्त पत्र जेठ २२ गते दर्ता भएको बुझिएको छ। तर दर्ता मिति भने २०८१ सालको देखिन्छ।*
क्यान महासंघको विवाद र उजुरीको विषयमा थप बुझ्नका लागि आज पटक पटक सम्पर्क गर्दा पनि क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेको मोबाइल स्विच अफ भएको संदेश आएका कारण सम्पर्क गर्न सकिएन।
*अन्तिमबाट दोस्रो पाराग्राफमा यसअघि दर्ता नभएको भन्नेलाई सच्याएर दर्ता भएको उल्लेख गरिएको छ -सम्पादक
प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार