अब पृथ्वीबाट रेडियो खगोल विज्ञान सम्भव नरहने, भूउपग्रहको विशाल झुन्डले ब्रह्माण्ड हेर्ने हाम्रो दृष्टि ओझेलमा पार्दै: रिपोर्ट

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

अब पृथ्वीबाट रेडियो खगोल विज्ञान सम्भव नरहने, भूउपग्रहको विशाल झुन्डले ब्रह्माण्ड हेर्ने हाम्रो दृष्टि ओझेलमा पार्दै: रिपोर्ट
तस्बिर सौजन्य: लाइभसाइन्स डटकम

काठमाडौं ।

फाल्कन ९ रकेट प्रक्षेपणहरुपछिको बादल नलागेको रातमा आकाशमा हेर्यो भने प्रकाशहरुका लहर यताबाट उता तरंगित भइरहेका देख्न सकिन्छ। यस घटनालाई “स्टारलिंक ट्रेन” भनिन्छ।

स्पेसएक्सका नयाँ प्रक्षेपण गरिएका उपग्रहहरूले सूर्यको प्रकाश परावर्तित गर्छन्। ती उपग्रहहरू विस्तारै फैलिँदै स्टारलिंक नेटवर्कको भाग बन्छन्।

यस्तो दृश्यले “मेगाकन्ष्टेलेशन” भनिने निजी उपग्रहहरूको विशाल झुन्ड तीव्र रूपमा वास्तविकता बनिरहेको कुराको याद गराउँछ।

तर यी उज्यालोहरूको पछाडि लुकेको र अझ समस्याजनक एक अदृश्य विकिरण पनि छ — रेडियो तरंग।

यदि हाम्रो आँखाले यो लुकेको विकिरण देख्न सक्ने भए, आकाश उज्यालो थोपाहरू र निरन्तर चम्काइले भरिन्थ्यो, जसले पृथ्वीको नजिकको कक्षाभन्दा बाहिर रहेका वस्तुहरूको संकेतहरू ओझेलमा पार्नेथियो।

उपग्रहहरूबाट देखिने प्रकाश प्रदूषणजस्तो नभई यी रेडियो तरंगहरूको अशान्त सन्देशहरू राति मात्र होइन, सधैं भइरहन्छन् — उपग्रह प्रक्षेपणपछि केही घण्टा मात्र सीमित हुँदैनन्।

लाइभसाइन्सका अनुसार केही वैज्ञानिकहरू यति चिन्तित छन् कि उनीहरूका अनुसार एउटा इन्फ्लेक्सन पोइन्ट अर्थात् आउन सक्छ जहाँबाट पृथ्वीबाट गरिने रेडियो खगोल विज्ञान असम्भव बन्न जान्छ।

“त्यसको अर्थ हुन्छ, अब पृथ्वीबाट रेडियो खगोल विज्ञान सम्भव हुँदैन,” जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ रेडियो एस्ट्रोनोमीका खगोलशास्त्री बेञ्जामिन विन्कलले बताए। “अन्ततः त्यो यस्तो अवस्थामा पुग्छ, जहाँ रेडियो टेलिस्कोप सञ्चालन गर्नुको अर्थ रहँदैन।”

केही विज्ञहरूको अनुमानमा, मेगाकन्ष्टेलेशनको वृद्धि दरलाई हेर्दा यस्तो अवस्था आगामी ३० वर्षभित्रै आइपुग्न सक्छ।

ब्रह्माण्डको अद्वितीय दृष्टिकोण

रेडियो खगोल विज्ञानले दृश्य प्रकाशले नदेखिने ब्रह्माण्डीय संरचनाहरू र घटनाहरू अध्ययन गर्न सम्भव बनाउँछ।

वैज्ञानिकहरूले सुपरम्यासिभ ब्ल्याक होलबाट निस्किने ऊर्जा जेटदेखि पृथ्वी नजिकैका ग्रहीय पिण्डहरूको मार्गमा हुने सूक्ष्म परिवर्तनसम्म अध्ययन गर्न रेडियो तरंगहरूको प्रयोग गर्छन्।

रेडियो टेलिस्कोपहरूले लगातार विभिन्न खगोलीय घटनाहरू पत्ता लगाइरहेका छन् जस्तै अति-ऊर्जाशील विकिरणको मिलिसेकेन्ड आवेगका रूपमा चिनिने र तीमध्ये केही निश्चित अन्तरालमा दोहोरिने फास्ट रेडियो बर्स्ट्स । यस्ता संकेतहरू अतिसघन र उच्च चुम्बकीयताका तारा—जस्तै न्युट्रोन स्टारहरू—बाट आउने मानिन्छ।

यस्तै अवलोकनहरूले बिग ब्याङ्गपछि करिब ४० करोड वर्ष बितेपछि प्रारम्भिक ताराहरू र आकाशगंगाहरू प्रारम्भिक हाइड्रोजनको बादलबाट निस्कन थालेको “एज अफ रिआयोनाइजेशन” भन्ने कालखण्डको बारेमा पनि उत्कृष्ट जानकारी दिने गर्छन्।

एसईटीआई संस्थाका अनुसन्धानकर्ताजस्ता एलियन जीवनका संकेत खोज्ने वैज्ञानिकहरू रेडियो तरंगहरूको प्रयोगलाई प्राथमिकता दिन्छन् किनभने कुनै पनि प्रगतिशील सभ्यताले सञ्चारका लागि यिनै तरंगहरूको प्रयोग गर्ने सम्भावना धेरै हुन्छ, जस्तै हामी मानवहरूले गर्छौं।

त्यसैगरी, हाम्रो पृथ्वीको ब्रह्माण्डमा अन्य खगोलीय वस्तुहरूको सन्दर्भमा सटीक स्थान पत्ता लगाउन पनि हामी रेडियो टेलिस्कोपहरूमा निर्भर छौं — किनभने यो स्थिति लगातार परिवर्तन भइरहन्छ।

रेडियो तरंगहरू पर्ने विद्युतचुम्बकीय स्पेक्ट्रम लगभग ३ किलोहर्ट्जदेखि ३०० गीगाहर्ट्जसम्म फैलिएको हुन्छ — जुन करिब १०० किलोमिटर लामोदेखि १ मिलिमिटर छोटो तरंग लामाइसम्म हुन्छ। तर यी सबै तरंगहरू पृथ्वीबाट देख्न सकिँदैनन्। ब्रिटिश एस्ट्रोनोमिकल एसोसिएसनका अनुसार अधिकांश खगोलशास्त्रीहरू १ मेगाहर्ट्जदेखि १०० गीगाहर्ट्जको दायरा भित्र संकेतहरू खोज्छन्।

विश्वका धेरैजसो ठूला रेडियो टेलिस्कोप नेटवर्कहरू अझ साना फ्रिक्वेन्सी दायरामा केन्द्रित हुन्छन्। उदाहरणका लागि, चीनको विश्वकै सबैभन्दा ठूलो एकल टेलिस्कोप एफएएस्टीले ७० मेगाहर्ट्जदेखि ३ गीगाहर्ट्जसम्मका संकेतहरू खोज्छ।

जबकि अस्ट्रेलिया र दक्षिण अफ्रिकामा फैलिएको विशाल एसकेएओले ५० मेगाहर्ट्जदेखि १४ गीगाहर्ट्जसम्म स्क्यान गर्छ। तर अहिले ती फ्रिक्वेन्सीहरूमा स्टारलिंक र अन्य उपग्रहहरूबाट आएको “अवरोध” बढ्दो रूपमा देखिएको छ।

चुहावट हुने रेडियो तरंगहरू

सामान्यतया: पृथ्वीमा सञ्चालकहरूलाई जानाजानी पठाइएका सन्देशहरू समस्या हुन् तर यी परियोजनाहरूका लागि सबैभन्दा ठूलो खतरा भनेको अनियन्त्रित विद्युतचुम्बकीय विकिरण (यूईएमआर) हो — जुन सधैं उपग्रहबाट थाहै नपाई चुहिने रेडियो तरंगहरू हुन्।

“पहिले यो समस्या थिएन, किनभने उपग्रहहरूको सङ्ख्या थोरै थियो,” एसकेएओका रेडियो खगोलशास्त्री र इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको सेन्टर फर द प्रोटेक्शन अफ द डार्क एण्ड क्वाइट स्काइ फ्रम स्याटेलाइट कन्स्टेलेशन इनटरफेरेन्स (सीपीएस) का सह-निर्देशक फेडेरिको डी भ्रुनोले भने। “तर अहिले परिस्थिति फेरिएको छ।”

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया