Technology Khabar १८ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
ट्रम्पको २०२६ को बजेटले नासाको बजेटमा २४ प्रतिशत कटौती गर्ने र जनशक्तिमा झण्डै एक तिहाइले घटाउने प्रस्ताव गरेको छ।
ह्वाइट हाउसले आगामी वर्षका लागि नासा को बजेट र जनशक्ति कटौती गर्दै केही प्रमुख मिसनहरू रद्द गर्न चाहेको हालै सार्वजनिक भएका कागजातहरूले देखाएका छन्।
मे २ मा ट्रम्प प्रशासनले आफ्नो २०२६ को “स्किनी बजेट” अनुरोध सार्वजनिक गरेको थियो, जसमा आगामी आर्थिक वर्षका लागि खर्च योजनाहरूको संक्षिप्त सारांश प्रस्तुत गरिएको थियो। सो कागजातमा नासा को बजेटलाई २४.८ अर्ब डलरबाट घटाएर १८.८ अर्ब डलरमा ल्याउने प्रस्ताव गरिएको थियो, जसको ठूलो हिस्सा विज्ञान कार्यक्रमहरूबाट कटौती गरिने उल्लेख गरिएको थियो।
स्पेस डटकमका अनुसार शुक्रबार (मे ३१) दिउँसो ह्वाइट हाउसले २०२६ को बजेट अनुरोधको विस्तृत संस्करण सार्वजनिक गर्यो, जसले प्रशासनको उद्देश्य र त्यसले नासा, कर्मचारीहरू र मिसन योजनाहरूमा पार्ने सम्भावित प्रभावलाई अझ स्पष्ट बनाएको छ।\
हालसालै सार्वजनिक कागजातअनुसार नासा लाई आर्थिक वर्ष २०२६ (अक्टोबर १, २०२५ देखि सेप्टेम्बर ३०, २०२६ सम्म) मा १८.८ अर्ब डलर बजेट दिइनेछ।
द प्लानेटरी सोसाइटीका अनुसार, यो नासा को इतिहासमा एकै वर्षमा हुने सबैभन्दा ठूलो बजेट कटौती हुनेछ, र मुद्रास्फीति अनुसार समायोजन गर्दा २०२६ को बजेट १९६१ यता कै सबैभन्दा न्यून हुनेछ।
नासा को विज्ञान बजेट ४७ प्रतिशतले घटाएर ३.९ अर्ब डलरमा ल्याइनेछ — जुन संख्या स्किनी बजेटमा पनि दिइएको थियो।
प्रकाशित: १८ जेष्ठ २०८२, आईतवार