डिजेल प्रविधि प्रतिको धारणा बदलेको स्क्यामसम्बन्धी मुद्दामा फक्सवागनका चार कार्यकारी दोषी ठहर

Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

युरोपको अटो बजारलाई रूपान्तरण गरिदिएको प्रदुषण स्क्यामसम्बन्धी मुद्दामा चारजना पूर्व फक्स वागन कार्यकारीहरू दोषी ठहरिएका छन्।
जर्मनीको ब्राउन्स्श्वाइगमा तीन वर्ष लामो सुनुवाइपछि सोमबार अदालतले फैसला सुनाएको हो।

यो फैसला पछिल्लो एक दशकदेखि चलिरहेको घोटालाको नयाँ अध्याय बनेको छ, जसले युरोपको डिजेल प्रविधिप्रतिको धारणा नै बदलिदिएको थियो।

टेकक्रञ्चका अनुसार डिजेल इन्जिन विकासको जिम्मेवारी पाएका येन्स हाडलरलाई सबैभन्दा कडा सजाय दिइएको छ। उनलाई साढे चार वर्षको जेल सजाय सुनाइएको छ। न्यायाधीशहरूले उनलाई “विशेष रूपमा गम्भीर” ठगीको अभियोगमा दोषी ठहर गरेका हुन्।

उनले नेतृत्व गरेको टोलीले सवारी साधनले इमिसन परीक्षण भइरहेको बेला चिन्न सक्ने सफ्टवेयर जडान गरेको थियो। परीक्षणको समयमा प्रदूषण नियन्त्रण अस्थायी रूपमा बढाइन्थ्यो भने बाँकी समय गाडीले बढी प्रदूषण फैलाउँथ्यो।

यो घोटालाको प्रभाव कम्पनीको बोर्डरूमभन्दा निकै टाढासम्म फैलिएको थियो। २०१५ अघि डिजेल गाडीहरू युरोपको कार बजारको आधाभन्दा धेरै हिस्सा ओगटेका थिए। ती गाडीहरू पेट्रोलको तुलनामा वातावरणमैत्री विकल्प भनेर प्रचार गरिएको थियो। अहिले त्यो हिस्सा घटेर जम्मा १० प्रतिशत नयाँ कार बिक्रीमा सीमित भएको छ।

घटनाले युरोपमा विद्युतीयकरणतर्फको संक्रमणलाई पनि तीव्र बनाएको छ। हाल विद्युतीय गाडी र प्लग-इन हाइब्रिडहरू नयाँ गाडी बिक्रीको २५ प्रतिशत हिस्सा ओगटेका छन्।

फक्स वागन नै युरोपको सबैभन्दा ठूलो इभी निर्माता बनेको छ। अप्रिल महिनामा उसले टेस्लाको तुलनामा तीन गुणा धेरै ब्याट्रीचालित गाडीहरू बिक्री गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया