Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
चीनको स्मार्टफोन ढुवानीको बारेमा काउन्टरपोइन्टको पछिल्लो रिपोर्ट सार्वजनिक भएको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा सबै अन्य ब्रान्डहरूलाई पछि पार्दै ह्वावेले शीर्ष स्थान हासिल गरेको छ।
जनवरीमा सुरु गरिएको सरकारी अनुदान कार्यक्रमको कारणले गर्दा समग्रमा, चीनको स्मार्टफोन बजार वर्षिक रुपमा ५ प्रतिशतले वृद्धि भएको छ। तर त्यो प्रारम्भिक गति धेरै समय टिक्न नसकेको उल्लेख गरिएको छ। छुट्टीको मौसम पछि माग घटेको र वृद्धि पनि अपेक्षाहरू भन्दा कम रहेको काउन्टरपोइन्टले उल्लेख गरेको छ।
ह्वावेले सामान्य वृद्धिका साथ शीर्ष स्थान कब्जा गर्योः
यस त्रैमासिकमा ह्वावेले बजारको १९ प्रतिशत हिस्सा ओगटेको छ जुन सन् २०२४ को चौथो त्रैमासिकको तुलनामा २ प्रतिशतले बढी हो। त्यसैगरी दोस्रो स्थानमा रहेको शाओमीले पनि समान १९ प्रतिशत बजार हिस्सा ओगटेको र अघिल्लो त्रैमासिकमा भन्दा यस त्रैमासिकमा अलि बलियो ३ प्रतिशतको लाभ पोस्ट गरेको उल्लेख छ।
एप्पल भने तेस्रो स्थानमा झरेको छ। एप्पलको ढुवानी २ प्रतिशतले घटेको र जसले गर्दा यसको बजार हिस्सा पनि १७ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झरेको छ। काउन्टरपोइन्टले यो गिरावटको श्रेय सरकारी अनुदान कार्यक्रमको संरचनालाई दिएको छ जुन केवल ६,००० चिनियाँ युआन (लगभग ८२० अमेरिकी डलर) भन्दा माथिको मूल्यका फोनहरूमा मात्र लागू हुने उल्लेख गरिएको छ। एप्पलको सबैभन्दा धेरै बिक्री हुने प्रो मोडेलहरू सहित धेरैजसो आईफोनहरू त्यो सीमाभन्दा धेरै माथि भएको र जसले गर्दा तिनीहरूलाई कुनै पनि छुटको पहुँचबाट बाहिर राखेको बताइएको छ।
त्यसैगरी १५ प्रतिशतको बजार हिस्सा र मामूली १ प्रतिशत वृद्धिको साथ ओप्पो चौथो स्थानमा आउन सफल भएको छ। भिभोले भने ठूलो गिरावट देखेको र अघिल्लो त्रैमासिकको तुलनामा १८ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको उल्लेख गरिएको छ। अनरले १३ प्रतिशत बजार हिस्साको साथ छैटौं स्थानमा अवतरण गरेको छ।
काउन्टरपोइन्टले आगामी दिनहरुमा सन् २०२५ मा चिनियाँ स्मार्टफोन बजार वर्षिक रुपमा सुस्त गतिमा बढ्दै जाने अपेक्षा गरेको छ। दोस्रो त्रैमासिकमा हुने आगामी डिभाइसहरूको लन्च र मध्य–वर्षको सेल्स फेस्टिवलहरूले ढुवानीमा अस्थायी वृद्धि हुने सम्भावनाको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार