स्पेसएक्सनद्वारा नयाँ फाल्कन ९ रकेटमार्फत् २३ ओटा स्टारलिंक स्याटेलाइटको समूह प्रक्षेपण

Technology Khabar ७ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

स्पेसएक्सको नयाँ रकेटले पहिलोपटक सफलतापूर्वक उडान भरेको छ। यो नयाँ फाल्कन ९ रकेट मे २० मङ्गलबार राति ११:१९ बजे (जीएमटी अनुसार मे २१ बिहान ३:१९ बजे) फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट प्रक्षेपण गरिएको हो। उक्त रकेटले कम्पनीका २३ वटा स्टारलिंक ब्रडब्यान्ड स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्ष (एलईओ) तर्फ लगेको छ।

यो प्रक्षेपण पहिल्यै योजना गरिएकोभन्दा एक दिन ढिलो भएको हो। स्पेसएक्सले मे १९ सोमबार राति नै प्रक्षेपण प्रयास गरेको थियो, तर प्रक्षेपणको केही समयअघि नै कम्पनीले प्रयास स्थगित गरेको थियो। स्थगित गरिएको कारण तुरुन्तै सार्वजनिक नगरिएको स्पेस डटकमले उल्लेख गरेको छ।

मङ्गलबारको प्रक्षेपण यो फाल्कन ९ रकेटको पहिलो उडान थियो। स्पेसएक्स रकेट पुनःप्रयोगमा अग्रणी मानिन्छ, त्यसैले यो नयाँ रकेटको प्रयोग दुर्लभ मानिन्छ।

उडानपछि झण्डै आठ मिनेटमा रकेटको बुस्टर भागले पहिलोपटक सफल अवतरण गर्दै अटलान्टिक महासागरमा तैनाथ गरिएको स्पेसएक्सको ड्रोन जहाज “जस्ट रिड द इन्स्ट्रक्सन” मा अवतरण गर्‍यो।

उता, फाल्कन ९ को माथिल्लो भागले २३ वटा स्टारलिंक स्याटेलाइटहरूलाई निचला पृथ्वी कक्षमा लान कार्य जारी राख्यो र प्रक्षेपणपछि करिब ६५ मिनेटमा स्याटेलाइटहरू निर्धारित समयमा तिनको कक्षमा पुर्‍याइए।

मङ्गलबार रातिको प्रक्षेपण २०२५ को ६०औं फाल्कन ९ उडान तथा यो वर्षको ४३औं स्टारलिंक मिसन हो।

स्टारलिंक हालसम्म बनाइएको सबैभन्दा ठूलो स्याटेलाइट मेगाकन्ष्टेलेसन हो, जसमा हाल झण्डै ७,५०० सक्रिय स्याटेलाइटहरू सञ्चालनमा छन्। मङ्गलबारको प्रक्षेपणले यो संख्या अझ बढ्दै गएको देखाउँछ।

प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया