Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
अमेरिकी संघीय न्यायाधीशले एप्पललाई फोर्टनाइट एप अमेरिकी एप स्टोरमा स्वीकृत गर्न वा त्यसो नगरेको कानुनी आधार अदालतमा आएर स्पष्ट पार्न निर्देशन दिएका छन्।
नयाँ अदालती कागजातमा अमेरिकी जिल्ला न्यायाधीश इभोन गोन्जालेज रोजर्सले अदालतले एपिक गेम्सको नयाँ निवेदन प्राप्त गरेको पुष्टि गरेकी छन्, जसमा कम्पनीले फोर्टनाइट पुनः एप स्टोरमा राख्न एप्पललाई स्वीकृति दिन माग गरेको छ।
जाहेर रूपमा असन्तुष्ट देखिएकी न्यायाधीशले एप्पललाई सोधेकी छन्,“एप्पलले यो अदालतको आदेश बेवास्ता गर्न सक्छ भन्ने कानुनी अधिकार कहाँबाट आएको हो?” यदि एप्पलले अवस्था सुधार नगरेमा फेरि अदालतमा उपस्थित हुनुपर्ने हुन सक्छ भन्ने संकेत पनि उनले गरेकी छन्।
“यो मुद्दा थप सुनुवाइ वा कागजी प्रक्रिया बिना नै एप्पलले समाधान गर्न सक्ने स्थिति छ,” गोन्जालेज रोजर्सले स्मरण गराउँदै अदालतको आदेश पालना गराउने जिम्मेवारी कसको हो भनेर कम्पनीले नाम सार्वजनिक गर्न आग्रह गरेकी छन्।
टेकक्रञ्चका अनुसार एप्पलका कुनै अधिकारीको नाम मागिनुले यदि आदेश पालना नगरेमा अदालतले अवहेलनाको कारबाही पनि अघि बढाउन सकिने संकेत गर्छ।
यसअघि पनि न्यायाधीश गोन्जालेज रोजर्सले एप्पलले अदालतको आदेशबाट बच्ने प्रयास गरेको भन्दै कम्पनीमाथि कडा आलोचना गरेकी थिइन् र अदालतमा झूट बोलेको आरोप समेत लगाएकी थिइन्।
बाह्य भुक्तानी विकल्प एपभित्र राख्न पाउने अधिकार जितेपछि एपिक गेम्सले फोर्टनाइट पुनः अमेरिकी एप स्टोरमा पठाएको थियो। तर एप्पलले उक्त निवेदनमा तत्काल कुनै निर्णय नगर्ने र नवौं सर्किट अदालतमा आफूले गरेको अपीलमा फैसला नआउन्जेल पर्खिने बताएको थियो।
एप्पलको यस्तो निर्णयपछि एपिक गेम्सले शुक्रबार अदालतलाई आदेश कार्यान्वयन गराउन माग गर्दै नयाँ निवेदन दर्ता गराएको हो।
यो पछिल्लो कानुनी धम्की एप्पलको एप स्टोर नीतिसम्बन्धी वर्षौं लामो कानुनी लडाइँको निरन्तरता हो। विगतमा एप्पलले बाह्य भुक्तानी लिंक राख्न नदिएर सबै खरिदमा शुल्क लिने नीतिको आलोचना खेप्दै आएको थियो।
अदालतको निर्णयपछि एप्पलले अमेरिकी विकासकर्तालाई केही छुट दिने नीति ल्याए पनि उनीहरूबाट २७ प्रतिशत शुल्क लिन जारी राखेको थियो, जुन पहिलेको ३० प्रतिशतभन्दा थोरै कम हो। साथै, प्रयोगकर्ताले एप स्टोरबाहिर किनमेल गर्दा ‘डर लाग्दा’ चेतावनी देखाउने स्क्रिन अनिवार्य बनाएको थियो।
विकासकर्ताका लागि महत्त्वपूर्ण जित मानिएको निर्णयमा न्यायाधीशले एप्पलले अदालतको आदेशको “जानबुझेर उल्लङ्घन” गरेको बताएकी थिइन्, जसले फोर्टनाइट पुनः एप स्टोरमा आउने बाटो खुला गरेको थियो। तर एप्पलले एपिकको एप पुनः स्वीकृत गर्न एक हप्ता लगाएको थियो, न त स्वीकृत गर्यो, न त अस्वीकार, बरु कानुनी प्रतिक्रिया तयार पार्दै बसिरह्यो।
अब के हुन्छ भन्ने कुरा एप्पलका लागि गम्भीर हुन सक्छ, किनकि यसले अन्य देशमा पनि समान कानुनी चुनौती वा नियमनको बाटो खोल्न सक्छ।
एपिक गेम्सले टिप्पणी गर्न अस्वीकार गरेको छ। एप्पलले पनि टिप्पणीको अनुरोधमा कुनै प्रतिक्रिया नदिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार