Technology Khabar ३१ बैशाख २०८२, बुधबार
काठमाडौं ।
वानप्लसले फ्ल्यागशिप चिपसेट भएको नयाँ ट्याब्लेट प्याड २ प्रो आधिकारिक रुपमा अनावरण गरेको छ। यो स्लेट यस महिनाको सुरुमा चीनको ओप्पो स्टोरमा सूचीबद्ध गरिएको थियो भने एकै परिवारको अर्को प्रोडक्ट ओप्पो प्याड ४ प्रोसँग यसको समानता देखिएको उल्लेख छ।
दुबै डिभाइसहरूले ठ्याक्कै उस्तै स्पेसिफिकेशन सिट साझा गर्दछन्, जसमा १४४ हर्ज सम्मको रिफ्रेस रेट, ९०० निट्सको पीक ब्राइटनेस र ३,३९२ ह २,४०० पिक्सेलको रिजोल्युसन भएको १३.२ इन्चको एलसीडी समावेश छ। त्यसैगरी ८जीबी, १२जीबी, वा १६जीबीको र्याम र २५६जीबी वा ५१२जीबीको स्टोरेज उपलब्ध रहेको बताइएको छ र सबै चार फरक मेमोरी कम्बिनेसनमा विभाजित हुनेछन्।
वानप्लस प्याड २ प्रो मा ६७वाट सुपरभीओओसी चार्जिङ समर्थनको साथ १२,१४० एमएएच ब्याट्री समावेश गरिएको छ भने यसले वाई–फाई ७ र ब्लुटुथ ५.४ जस्ता शीर्ष–स्तरीय कनेक्टिभिटी विकल्पहरू प्रदान गर्दछ।
वानप्लस प्याड २ प्रोको मोटाई ६ मिमी भन्दा कम (क्यामरा बम्प बिना ५.९७ मिमी) मापन गर्दछ र यसको तौल ६७५ ग्राम रहेको छ। यस ट्याब्लेटलाई कभर किबोर्डमा जोड्न सकिनेछ, जुन छुट्टै बिक्री गरिने उल्लेख गरिएको छ।
ट्याब्लेटको पछाडि रहेको ओभल क्यामरा आइल्याण्डमा १३ मेगापिक्सेलको शूटर र कलर स्पेक्ट्रम सेन्सर छन् भने भिडियो कलहरूमा प्रयोग हुने अगाडिको क्यामरा केवल ८ मेगापिक्सेलको भएको बताइएको छ। ट्याब्लेट कलरओएस १५ रन गर्दछ र चीनमा वानप्लस डिभाइसहरूमा ओप्पो प्रयोगकर्ता इन्टरफेस हुनु एकदम सामान्य कुरा भएको उल्लेख गरिएको छ।
वानप्लस प्याड २ प्रो ग्रे (खैरो) वा नेभी ब्लू (निलो) रङ्गमा उपलब्ध छन्। यो ट्याब्लेट आफ्नो ओप्पो ट्विन भन्दा अलि सस्तो भएको बताइएको छ जसको मूल्य ८/२५६ जीबीको लागि ३,१९९ चिनियाँ युआन, १२/२५६ जीबीको लागि ३,४९९ चिनियाँ युआन, १२/५१२ जीबीको लागि ३,७९९ चिनियाँ युआन, र १६/५१२ जीबीको लागि ३,९९९ चिनियाँ युआन कायम गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३१ बैशाख २०८२, बुधबार