अमेरिकी सवारी सुरक्षा निकायले टेस्लासँग माग्यो रोबोट्याक्सी सेवाबारे विवरण

Technology Khabar ३१ बैशाख २०८२, बुधबार

काठमाडौं ।

टेस्लालाई आगामी जुनदेखि टेक्सासको अस्टिनमा सुरु गर्न लागिएको शुल्क लाग्ने रोबोट्याक्सी सेवाबारे विवरण मागेको छ। निकायले खराब मौसममा टेस्लाको “फुल सेल्फ ड्राइभिङ” (एफएसडी) प्रविधि प्रयोग गर्ने कारहरू कसरी प्रदर्शन गर्छन् भन्ने मूल्यांकन गर्न खोजेको हो।

अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीसए) ले सोमबार सार्वजनिक गरेको पत्रमा भनिएको छ कि गत अक्टोबरदेखि टेस्लाको एफएसडी प्रविधि प्रयोग भइरहेका कारहरू खराब भिजिबिलिटीका अवस्थाहरूमा दुर्घटनामा परेकोबारे अनुसन्धान भइरहेको छ।

विशेषगरी कम भिजिबिलिटी भएका अवस्थाहरूमा प्रणालीले कसरी प्रतिक्रिया गर्छ भन्ने मूल्यांकन गर्नका लागि एनएचटीसएले टेस्लाको रोबोट्याक्सी विकासबारे थप जानकारी खोजिरहेको जनाइएको छ। यसबाहेक, रोबोट्याक्सी सेवा सुरु गर्ने योजना, प्रयोगमा ल्याइने प्रविधि र यसको कार्यान्वयनसम्बन्धी विवरणहरू पनि मागिएको रोयटर्सले उल्लेख गरेको छ।

टेस्लाले भने हालसम्म यसबारे कुनै टिप्पणी नगरेको बताइएको छ।

गत अक्टोबरमा एनएचटीएसएले २४ लाख टेस्ला गाडीमा एफएसडी प्रविधि जडान भएको दावी गर्दै अनुसन्धान सुरु गरेको थियो। चारवटा दुर्घटनाको रिपोर्ट प्राप्त भएपछि उक्त अनुसन्धान सुरु गरिएको थियो जसमा सन् २०२३ मा एकजना व्यक्तिको ज्यान गएको घटनासमेत समावेश छ।

एनएचटीएसएले सोमबार टेस्लालाई रोबोट्याक्सीका रूपमा कति गाडी प्रयोग गरिनेछन् र टेस्लाबाहेक अन्य प्रयोगकर्ताका लागि प्रविधि कहिले उपलब्ध गराइनेछ भनेर सोधेको छ। उक्त निकायले रोबोट्याक्सी गाडीहरू टेस्लाले वास्तविक समयमा अनुगमन गर्छ कि गर्दैन भन्ने पनि स्पष्ट गर्न भनेको छ।

टेस्लाले पत्रमा घामको तेज प्रकाश, कुहिरो, धूलो, वर्षा वा हिमपातजस्ता भिजिबिलिटी घटाउने अवस्थाहरूमा रोबोट्याक्सी सेवा सुरक्षित रूपमा सञ्चालन गर्न के कस्ता उपाय अपनाएको छ भन्नेबारे सोधेको छ। त्यस्ता अवस्था सवारीको बीचमा आएमा के हुन्छ भन्ने पनि खुलाउन भनिएको छ।

पत्रमा प्रयोग गरिएका सेन्सर, क्यामेरा तथा तिनको प्रयोगबारे, साथै अनुगमन गरिएको वा नगरीकन सञ्चालन हुँदा रोबोट्याक्सी प्रणाली कसरी सुरक्षित रहन्छ भन्नेबारे पनि जानकारी मागिएको छ। टेस्लाको प्रणालीले ड्राइभिङ स्वचालनसम्बन्धी कुनै औद्योगिक मापदण्ड पूर्णतः वा आंशिक रूपमा अपनाएको छ कि छैन भन्ने बारे पनि सोधिएको छ।

रोयटर्सका अनुसार अक्टोबरमा अनुसन्धान सुरु गर्दा एनएचटीएसएले घट्दो भिजिबिलिटीको अवस्थामा एफएसडी प्रविधि सक्रिय हुँदा चारवटा दुर्घटना भएको जनाएको थियो। सन् २०२३ नोभेम्बरमा एरिजोनाको रिमरकमा एकजना पैदलयात्रीलाई टेस्ला मोडल वाईले ठक्कर दिँदा ज्यान गएको थियो।

सन् २०२३ को डिसेम्बरमा टेस्लाले अमेरिका भरिका २० लाखभन्दा बढी गाडी फिर्ता बोलाई आफ्नो अटो पाइलट प्रणालीमा थप सुरक्षा उपायहरू जडान गरेको थियो। तर एनएचटीएसएले ड्राइभरहरू पर्याप्त ध्यान दिइरहेका छन् कि छैनन् भन्ने चिन्ता समाधान गर्न त्यो कदम पर्याप्त छ कि छैन भनेर अझै अनुसन्धान गरिरहेको छ।

टेस्लाको एफएसडी प्रविधिसँग सम्बन्धित कम्तीमा दुईवटा ज्यान जाने दुर्घटना भइसकेका छन्। तिनीमध्ये सन् २०२४ अप्रिलमा सिएटल क्षेत्रमा मोडल एस गाडीले एक २८ वर्षीय मोटरसाइकल चालकलाई ठक्कर दिँदा ज्यान गएको घटना पनि समावेश छ।

प्रकाशित: ३१ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया