असफल रुसी शुक्रयान ५३ वर्षपछि यसरी पृथ्वीमा खस्यो, कहाँ कहाँ कति असर पार्यो?

Technology Khabar ३० बैशाख २०८२, मंगलवार

काठमाडौं ।

असफल सोभियत शुक्र ग्रह मिसनको एउटा यानको लामो अन्तरिक्ष यात्रा अन्ततः सकिएको छ।

कोस्मोस ४८२ नामको सोभियत अन्तरिक्ष यान गत (मे १०) मा पृथ्वीमा खसेको छ। उक्त यानले पाँच दशकभन्दा बढी समयसम्म पृथ्वीको परिक्रमा गरिसकेको थियो।

रूसी अन्तरिक्ष एजेन्सी रोसकोस्मोसका अनुसार बिहान २:२४ बजे (पूर्वी अमेरिकी समय) वा ९:२४ बजे (मस्को समय) यो यान इन्डोनेसियाको जकार्ताको पश्चिमतर्फ हिन्द महासागरमा पुनःप्रवेश गर्दै पृथ्वीमा खसेको हो। कोस्मोस ४८२ सायद समुन्द्रमै खसेको हुनाले कुनै क्षति नभएको अनुमान गरिएको छ।

यो स्थान एक अनुमान मात्रै हो। अन्य अन्तरिक्ष एजेन्सीहरू र निगरानी संस्थाहरूले यसको पुनःप्रवेश दक्षिण एसिया महादेशदेखि लिएर पूर्वी प्रशान्त महासागरसम्मका विभिन्न ठाउँमा हुने सम्भावना देखाएका थिए। कोस्मोस ४८२ अन्ततः कहाँ खस्यो भन्ने कुरा अझै स्पष्ट छैन।

यो शुक्र ग्रहमा जानुपर्ने यान थियो

कोस्मोस ४८२ सोभियत संघको भेनेरा कार्यक्रमअन्तर्गत विकास गरिएको यान थियो, जसको उद्देश्य १९६०, ७० र ८० को दशकमा शुक्र ग्रहमा विभिन्न यान पठाउनु थियो।

यो यान १९७२ मा शुक्र ग्रहतर्फ प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणको क्रममा रकेटमा समस्या आउँदा यो पृथ्वीको कक्षामै अड्किएको थियो। त्यसपछि ५३ वर्षसम्म पृथ्वीको वायुमण्डलीय घर्षणका कारण यसको कक्षा क्रमशः झर्दै गयो र आजको पुनःप्रवेशको क्षण आयो।

इटालीको रोम शहरबाट खगोलविद् जियाँलुका मासीले मे १० को सूर्योदय अघि कोस्मोस ४८२ पृथ्वीमाथि गुज्रिरहेको बेला यसको तस्बिर खिच्न सफल भएका थिए। उनले भनेअनुसार, तस्बिर चारवटा फोटोको संयोजन हो, त्यसैले यानको ट्रेल ड्यास (विच्छिन्न) देखिन्छ।

शक्तिशाली संरचनाको कारण जलेन?

स्पेस डटकमका अनुसार कोस्मोस ४८२ करीब १ मिटर चौडाइ र ४९५ किलोग्राम वजनको थियो। यो यान शुक्र ग्रहको बाक्लो वायुमण्डल पार गर्न सक्ने गरी डिजाइन गरिएको हुनाले यसले पुनःप्रवेशको समयमा जलेर नष्ट नभई पूरै अवस्थामा पृथ्वीमा खसेको हुनसक्ने अनुमान गरिएको छ। यदि पूरै अवस्थामा खसेको हो भने यो करीब २४० किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीमा ठोक्किएको हुनसक्छ।

डच स्याटेलाइट ट्र्याकर मार्को लाङबोरेकका अनुसार, यस्तो अवस्थामा यसको ठोक्किने उर्जा करिब ४०–५५ से.मी. व्यासको उल्कापिण्डको जस्तै हुने गर्छ।

स्पेस जङ्कको बढ्दो समस्या

कोस्मोस ४८२ को पुनःप्रवेशले पृथ्वीको बढ्दो स्पेस जङ्क (अवशेष वस्तुहरू) समस्याप्रति ध्यान खिचाएको छ। औसतमा, हरेक दिन तीन वटा ठूलाठूला स्पेस जङ्कहरू पृथ्वीमा झर्ने गर्छन्, र यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का अनुसार, हाल पृथ्वीको कक्षामा १४,२४० वटा स्याटेलाइट छन्, जसमध्ये ११,४०० सक्रिय छन्। तीमध्ये धेरैजसो स्पेसएक्सको स्टारलिंक नेटवर्कका हुन्, जसमा हाल करिब ७,२०० स्याटेलाइट छन् र संख्यामा निरन्तर वृद्धि भइरहेको छ।

त्यस्तै अमेजनले प्रोजेक्ट कुइपर अन्तर्गत ३,२०० स्याटेलाइट राख्ने योजना अघि बढाएको छ। चीनले पनि दुईवटा मेगाकन्ष्टेलेसनको तयारी गरिरहेको छ, जसमा प्रत्येकमा कम्तीमा १३,००० स्याटेलाइट रहने योजना छ।
ईएसएका अनुसार, “अन्तरिक्ष यातायात बढ्दै जाँदा यस्ता पुनःप्रवेशहरू अझै बढ्ने अपेक्षा गरिएको छ।”

हालैसम्म पृथ्वीमा खस्ने स्पेस जङ्कहरू समुद्र वा जनसंख्या नभएको भूभागमा पर्ने हुँदा मानवीय वा भौतिक क्षतिको जोखिम धेरै कम मानिन्छ। तर पुनःप्रवेशको संख्या बढ्दै जाँदा त्यस्ता खतराको सम्भावना पनि बढ्ने देखिन्छ।

अन्य असरहरू पनि छन्—जस्तै पुनःप्रवेशको समयमा उपग्रहबाट उत्पन्न हुने प्रदूषणले पृथ्वीको ओजन तह र जलवायुमा असर पार्न सक्ने वैज्ञानिकहरूको चेतावनी छ।

प्रकाशित: ३० बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया