
काठमाडौं ।
एप्पलले मार्च २८ मा समाप्त भएको त्रैमासिकको लागि आफ्नो वित्तीय नतिजा घोषणा गरेको छ। एक प्रेस विज्ञप्तिमा कम्पनीले १११.२ बिलियन अमेरिकी डलरको आम्दानी गर्दै गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा १७ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेको छ। एप्पलले आईफोन १७ लाइनअप अहिलेसम्मकै सबैभन्दा लोकप्रिय भएको उल्लेख पनि गरेको छ।
कम्पनीले यो मार्च त्रैमासिकको प्रदर्शन हालसम्मकै मार्च त्रैमासिकको सबैभन्दा राम्रो प्रदर्शन भएको एप्पलका पूर्व सीईओ टिम कुकले बताएका छन् र आईफोनले पनि मार्चको प्रदर्शनमा रेकर्ड कायम गरेको उल्लेख गरिएको छ। साथै उनले एप्पलको सेवा क्षेत्र अहिलेसम्मकै उच्चतम स्तरमा पुगेको थप उल्लेख गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी एप्पलका सीएफओ केभन पारेखले एप्पलले २८ बिलियन डलरभन्दा बढी सञ्चालन नगद प्रवाह उत्पन्न गरेको खुलासा गरेका छन्।
फाइनान्सियल टाइम्सलाई दिएको एक विज्ञप्तिमा उनले आईफोन १७ लाइनअप कम्पनीको अहिलेसम्मकै सबैभन्दा लोकप्रिय भएको र आईफोनले त्रैमासिकको अवधिमा बजार हिस्सा पनि हासिल गरेको हुन सक्ने बताएका छन्।
आईफोन १७ लाइनअपमा आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स, आईफोन १७ ई र आईफोन एयर समावेश छन्।
एप्पलले आम्दानी विवरणको क्रममा विस्तृत राजस्व विवरण पनि साझा गरेको छ। कुल उत्पादन आम्दानी ८०.२ बिलियन अमेरिकी डलर भएको र सेवाहरूले ३१ बिलियन अमेरिकी डलर उत्पन्न गरेको उल्लेख गरिएको छ।
आईफोनले मात्र ५७ बिलियन अमेरिकी डलर आम्दानीको हिस्सा ओगटेको छ। कम्पनीले अमेरिका, पश्चिमी युरोप, भारत, जापान, चीन र दक्षिणपूर्व एशिया सहित धेरै बजारहरूमा आईफोन बिक्रीमा दोहोरो अंकको वृद्धि देखिएको बताएको छ।
प्रकाशित: २० बैशाख २०८३, आईतवार