Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
आज बिहानदेखि थुप्रै सरकारी वेबसाइटहरु डाउन भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभाग, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, गोरखापत्र तथा नेपाल प्रहरी लगायतका वेबसाइट खोल्दा ब्राउजर घुमिरहने र होमपेज पनि नखोलिने र नयाँ कुनै सन्देश पनि डिस्प्ले नहुने र वेबसाइट नखुल्दा आउने ‘दिस साइट क्यान्ट बी रिच्ड’ भन्ने सन्देश डिस्प्ले हुन भइरहेको छ।
उता प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइट भने यथावत रहेको पाइएको छ।
यसअघि नेपाल प्रहरीले समेत आफ्नो वेबसाइटमा प्राविधिक समस्या देखिँदा सेवाग्राहीलाई असर परेको सूचना जारी गरेको थियो।
सम्बन्धित समाचार
यस सम्बन्धमा बुझ्दा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पावर सप्लाईको समस्या आएका कारण वेबसाइटहरू प्रभावित भएको सूचना प्रविधि विभाग स्रोतले जानकारी दिएको छ। केन्द्रमा पावर सप्लाईमा समस्या आउनुमा विद्युत् प्राधिकरणको लाइनमा गडबडी देखिएको बताइएको छ।
सूचना प्रविधि केन्द्रका अनुसार केही संवेदनशील मानिएका साइटहरू चलाउन जनेरेटरको सहयोगमा पावर सप्लाइ सुचारु गरिएको छ भने अन्य वेबसाइटहरू भने चलेका छैनन्।
प्राविधिक टोली मर्मतमा अनवरत खटिएकाले केही समयभित्र अहिले बन्द अवस्थामा रहेका सबै साइटहरूले पनि काम गर्न थाल्ने केन्द्रले जनाएको छ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार