Technology Khabar ४ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीको कार्यअनुभवको कागजात नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
प्राधिकरणका अध्यक्ष भण्डारीले नियुक्तिको समयमा पेश गरेका कार्यअनुभवको कागजातहरु नक्कली भएको भन्दै त्यसमा छानबिन गर्नका लागि आयोगसमक्ष नागरिक समाजका तर्फबाट शुसासनका कार्यरत समूहले भन्डारीको कार्यानुभवको डकुमेन्टहरुसहित उजुरी गरेको हो।
टेक्नोलोजीखबरले पाएको उक्त २०८२ बैशाख ३ गते दायर गरेको सी ०६०८६९ दर्ता नम्बरको उजुरी पत्रकाअनुसार उक्त संस्थामा नियुक्त भएका भण्डारीले नेपालको कम्पनीमा काम गरेको समयमा नै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ।
भण्डारीले एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण भण्डारीको सो कागजात शंकास्पदसमेत देखिएको कागज हेर्दा प्रष्ट हुने उजुरीमा जिकिर गरिएको छ।
“भण्डारीले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा पेश गरेको कागजातमा सन् २००८ को जनवरी २० सम्म नेपालमा रहेको तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल (अहिलेको एनसेल) मा डेपुटी चिफ फाइनान्स अफिसर पदमा काम गरेका छन्। यस्तै, उनले पेश गरेको अर्को कागजातमा बुरुण्डीमा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा १ जनवरी २००८ देखि १९ जनवरी २०१६ सम्म काम गरेको देखिन्छ। अर्थात १ जनवरी २००८ देखि २० जनवरी २००८ सम्म उनले नेपालको राजधानी काठमाडौँमा तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइलमा डेपुटी चिफ फाइनान्स अफिसरमा काम गरेका थिए भने सोही समयमा अफ्रिकी देश बुरुण्डीको बुजम्बुरामा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर काम गरेको भन्दै अनुभवको कागजात पेश गरेका छन्,” उजुरी पत्रमा भनिएको छ।
यसैगरी भण्डारी सो समयमा नेपालको स्पाइस नेपालमा कार्यरत नभएको, वा बुरुण्डीको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिएनन् भन्ने स्पष्ट हुने भनिएको छ।
स्मरण रहोस्, टेक्नोलोजीखबरले यस विषयमा समाचार प्रकाशित गर्दै भण्डारीको कार्यअनुभवको कागजातमाथि प्रश्न उठाएको थियो। टेक्नोलोजीखबरले मन्त्रालय स्रोतबाट पाएको डकुमेन्टहरु हेर्दा उनले नेपालको र विदेशका समान प्रकृतिका फरक-फरक कम्पनीहरुमा एकैदिन जागिर खाएको देखिन्छ।
सम्बन्धित समाचार-
तत्कालिन सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माको सल्लाहकार रहेका भण्डारी मन्त्रीको सल्लाहकार पदमा रहेकै समयमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएका थिए। प्राधिकरण संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तरगत पर्ने नियामक निकाय हो।
तत्कालिन मन्त्री शर्माले आफ्नै सल्लाहकारलाई प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भन्दै सोही समयमा पनि उनी र अध्यक्ष भण्डारीमाथि नैतिकताको प्रश्न समेत उठेको विषय समेत उजुरी पत्रमा राखिएको छ।
तत्कालिन समयमा मन्त्री शर्मा र अध्यक्ष भण्डारीले यो नैतिक प्रश्नप्रति पूर्णत बेवास्ता गरेर नियुक्ति दिइएको भन्दै। अब भने कानुनी प्रश्न पनि उठ्ने देखिएको उल्लेख छ।
अख्तियारमा दर्ता भएको उजुरी पत्रमा भनिएको छ, “अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा उनले सन् २००८ को जनवरी १ देखि २० सम्म नेपालको स्पाइस नेपाल, मेरो मोबाइलमा काम गरेका थिएनन् कि बुरुण्डीको लासेल एसयुमा काम गरेका थिएनन् भन्ने हेर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएकोले हामी यो निकायको ध्यानाकर्षण गराउदछौँ। अर्को हेर्नुपर्ने विषय के छ भने तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल अहिले एनसेल भएको छ। बुरुण्डीमा रहेको लासेल एसयु कम्पनी सरकारी बक्यौता तिर्न नसकेर सन् २०२२ मा नै बन्द भइसकेको छ।”
प्राधिकरणका अध्यक्ष भण्डारीले बुरुण्डीको बन्द भइसकेको कम्पनीमा कार्यरत रहेको अनुभव पेश गरेर नियुक्ति लिएको र उनले राज्यलाई ढाँटेर नियुक्त भएका अध्यक्षले सो सँस्थामा गएसँगै हाल सम्म सँस्थाको हितका निम्ति कुनै काम पनि गर्न नसकेको भनिएको छ।
“तसर्थ अध्यक्ष भण्डारीले पेस गरेका कागजातका बारेमा राज्यलाई ढाँट्नु गम्भीर अपराध भएकोले तत्काल अनुसन्धान गरि कानुनी दायरामा ल्याइदिनु हुन श्रीमान प्रमुख आयुक्त ज्यु समक्ष निवेदनका साथ हार्दिक अनुरोध गर्दछौं,” नागरिक समाजका तर्फबाट शुसासनका कार्यरत समूहले पत्रमा लेखेको छ।
हेर्नुस् उजुरी पत्र-

यो पनि हेर्नुस्-
‘लासेल एसयू’का पूर्व सीईओ तथा दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारी कस्को लागि काम गर्दैछन्?
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार