अब च्याटजीपीटीले अघिल्ला कुराकानीको हिस्ट्री सम्झिने

Technology Khabar ३ बैशाख २०८२, बुधबार

काठमाडौं ।

ओपनएआई लगातार नयाँ फिचर र मोडेलहरू सार्वजनिक गर्दै अघि बढिरहेको छ। र यदि तपाईं च्याटजीपीटी प्रयोगकर्ता हुनुहुन्छ भने, प्रत्येक कुराकानी नयाँ हुने कुरा तपाईंलाई थाहा नै होला, किनभने च्याटबोटले अघिल्ला विवरणहरू सम्झँदैन। तर अब त्यो अवस्था बदलिएको छ।

एप्रिल २०२५ मा ओपनएआईले नयाँ अपडेट सार्वजनिक गरेको छ, जसले च्याटजीपीटीलाई अब कुरा सम्झिन सक्ने बनाएको छ। हो तपाईंले ठीकै पढ्नुभयो। यो फिचरमार्फत अब बोटले अघिल्ला कुराकानीहरू सन्दर्भ गर्न सक्छ र तपाईंका रुचि तथा प्राथमिकतामा आधारित बढी सान्दर्भिक र व्यक्तिगत प्रतिक्रिया दिन सक्छ।

एक्स (अघिल्लो ट्विटर) मा एक आधिकारिक घोषणामार्फत कम्पनीले अब एआई बोटले अघिल्लो कुराकानीहरूबाट प्राप्त जानकारी सम्झन सक्ने र जसले यसको लेखन सहायता वा सिकाइका लक्ष्यहरूको प्रतिक्रियालाई अझ व्यक्तिगत, सहयोगी र उपयुक्त बनाउनेछ भन्ने जानकारी दिएको छ।

पहिल्यैदेखि रहेको ‘सेभ्ड मेमोरी’ प्रणालीमा आधारित यो नयाँ फिचरले अब अघिल्ला च्याटहरू सन्दर्भ गरेर प्रयोगकर्तालाई अझ उपयोगी र सान्दर्भिक उत्तर दिन सक्ने न्युज१८ ले उल्लेख गरेको छ। “नयाँ कुराकानीहरू स्वाभाविक रूपमा तपाईंबारे पहिल्यै थाहा भएका कुरामा आधारित हुने भएकाले अबको अन्तर्क्रिया अझ सहज र तपाईंअनुकूल महसुस हुनेछ,” पोस्टमा उल्लेख गरिएको छ।

यसबाहेक, जसले कुराकानी गर्दा मेमोरी प्रयोग गर्न चाहँदैनन्, तिनीहरूका लागि ओपनएआईले ‘टेम्पोररी च्याट’ को विकल्प पनि दिएको छ, जसले कुनै व्यक्तिगत जानकारी प्रयोग वा भण्डारण गर्दैन।

खास कुरा के हो भने च्याटजीपीटीको यो मेमोरी सुधार सुविधा अहिले च्याटजीपीटी प्लस र प्रो प्रयोगकर्ताहरूका लागि रोलआउट भइरहेको छ। तर ईईए, बेलायत, स्विट्जरल्यान्ड, नर्वे, आइसल्याण्ड र लिचेन्स्टाइनका प्रयोगकर्ताहरूलाई भने अझै केही समय कुर्नुपर्नेछ।

समूह, संस्था र शिक्षण योजनाका प्रयोगकर्ताहरूले यो सुविधा केही हप्ताभित्र पाउने ओपनएआईले थप जानकारी दिएको छ।

प्रकाशित: ३ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया