अन्तरिक्षबाट विश्वको सबैभन्दा दुर्गम क्षेत्रका ट्रपिकल वनहरूको कार्बन स्तरको अध्ययन गरिने 

Technology Khabar २६ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

वैज्ञानिकहरू अन्तरिक्षबाट विश्वको सबैभन्दा दुर्गम, घना र अँध्यारो ट्रपिकल जङ्गल (वन)हरूको विस्तृत थ्रीडी नक्सा बनाउने उद्देश्यले अभूतपूर्व अभियानमा सामेल हुन लागेका छन्। यो उपलब्धि बायोमास नामक प्रोबमा जडान गरिएको विशेष राडार स्क्यानर प्रयोग गरेर हासिल गरिनेछ, जुन यस महिनाको अन्त्यतिर पृथ्वीको कक्षामा पठाइने छ।

आगामी पाँच वर्षसम्म, १.२५ टनको अन्तरिक्षयानले अफ्रिका, एसिया र दक्षिण अमेरिकाका ट्रपिकल रेनफरेस्ट (वर्षावन) हरूमाथि घुम्नेछ र यसले बाक्लो/घना ४० मिटर अग्लो क्यानोपीहरू (जङ्गलका रूखहरूको माथिल्लो हाँगाहरू, पातहरूको तह) तल रहेका वनस्पतिहरूको अध्ययन गर्नेछ।

यसपछि बायोमासद्वारा सङ्कलन गरिएको डाटा (जानकारी) सामान्यतया मानिसहरूले देख्न नसक्ने र मानव दृष्टिबाट लुकेका वनहरूको विशेष थ्रीडी नक्साहरू बनाउन (सिर्जना गर्न) प्रयोग गरिनेछ।

यी क्षेत्रहरूमा सूर्यको प्रकाशको २ प्रतिशत भन्दा कम प्रकाश मात्र वनको भुइँमा वा जङ्गल भित्रको जमिनमा पुग्ने गर्छ। तैपनि बायोमासले ६०० किलोमिटर भन्दा बढीको उचाइबाट तिनीहरूलाई अतुलनीय विवरणमा अध्ययन गर्ने उल्लखे गरिएको छ।

यो मिसनले महत्त्वपूर्ण तवरमा वैज्ञानिकहरूलाई जङ्गलमा कति कार्बन भण्डारण भएको छ भनेर गणना गर्नुका साथै, मानिसहरूले ट्रपिकल क्षेत्रका रूखहरू काट्दा र वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर बढाउन जारी राख्दा स्तर कसरी परिवर्तन भइरहेको छ भनेर मापन गर्न अनुमति दिनेछ।

यसका साथै, युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) द्वारा वित्त पोषित र एयरबस युकेको नेतृत्वमा रहेको कन्सोर्टियम (साझेदारी/सहकार्य) मा निर्माण गरिएको बायोमासले वन–जङ्गलको भुइँको सब–सर्फेस जियोलोजी (भूमिगत भूविज्ञान) र टोपोग्राफीको नक्साङ्कन गर्नेछ भने यसले खानी र कृषिको लागि वनहरू फँडानी गर्दै गर्दा जैविक विविधता कुन हदमा हराउँदैछ भन्ने बारेमा पनि डाटा (जानकारी) प्रदान गर्नेछ।

“हामीलाई हाम्रा ट्रपिकल फरेस्ट (वन) हरूको स्वास्थ्य थाहा हुनुपर्छ,” ईएसएका लागि अर्थ अब्जर्भेसन प्रोग्राम्स (पृथ्वी अवलोकन कार्यक्रम) का निर्देशक सिमोनेटा चेलीले गत हप्ता अब्जर्भरलाई बातएः ‘हामीलाई यसको वनस्पतिको गुणस्तर र विविधता र त्यहाँ भण्डारण भएको कार्बनको मात्रा थाहा हुनुपर्छ। त्यो जानकारी प्राप्त गर्नको लागि हामी तिनीहरूको थ्रीडी ईमेजहरू सिर्जना गर्नेछौं – वनको ट्रपिकल फरेस्ट (वन) हरूले वायुमण्डलबाट धेरै कार्बन डाइअक्साइड सोस्छन् र पृथ्वी (ग्रह) लाई ग्लोबल वार्मिङको केही खराब प्रभावहरूबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।’

ट्रपिकल फरेस्ट (वन) हरूले वायुमण्डलबाट लगभग आठ अर्ब टन कार्बन डाइअक्साइड लिन्छन् भनि अनुमानहरूले सुझाव दिएको र तिनीहरूलाई प्रायः पृथ्वीको हरियो फोक्सोको रूपमा वर्णन गरिने गरिएको छ।

तर वन फँडानी र वातावरणीय ह्रासले अब यो प्रभावलाई उल्टाउँदैछ। कुनै एक समयमा ठूलो मात्रामा भण्डारण भएको कार्बनलाई वायुमण्डलमा फिर्ता पठाइँदैछ, जसले हरितगृह ग्यासहरूको बढ्दो स्तरमा थप वृद्धि गरिरहेको छ।

हटस्पटहरूमा दक्षिण अमेरिकाका उत्तरी क्षेत्रहरू, सब–सहारन अफ्रिका, दक्षिण–पूर्वी एशिया र प्रशान्त क्षेत्रहरू समावेश छन् जहाँ विफ, सोया, कफी, कोको, पाम तेल र काठको बढ्दो उत्पादनले व्यापक वन फँडानी भइरहेको छ।

“आगामी वर्षहरूमा पृथ्वीको जलवायुमा के हुने हो भनेर भविष्यवाणी गर्न समस्याको परिमाण निर्धारण गर्नु आवश्यक छ” बायोमास परियोजनाका मिसन वैज्ञानिक ब्योर्न रोमेनले भने। “हामी अहिले कस्ता परिवर्तनहरू भइरहेका छन् भनेर राम्ररी बुझ्दैनौं, किनभने हामीसँग यी जङ्गलहरूका कार्बन स्तरको सही अनुमान छैन। बायोमासले हामीलाई ती संख्याहरूमा राम्रो पकड प्राप्त गर्न मद्दत गर्नेछ” उनले थप उल्लेख गरे।

बायोमास अप्रिल महिनाको २९ तारिखमा फ्रेन्च गुयानाको कौरो नजिकैको ईएसएको स्पेसपोर्टबाट भेगासी रकेटमा प्रक्षेपण गरिने तालिका रहेको छ भने यसमा पी–ब्यान्ड सिन्थेटिक एपर्चर राडार भनेर चिनिने राडार हुनेछ।

यसको लामो वेभलेन्थ सिङ्गनल्स (संकेतहरू) को प्रयोगले यसलाई विश्वको ट्रपिकल जङ्गलहरूमा रूखहरूको भुइँ र हाँगाहरूमा कति कार्बन भण्डारण भएको छ भनेर मूल्याङ्कन गर्नुका साथै, स्तरहरू कसरी परिवर्तन हुँदैछन् भनेर मूल्याङ्कन गर्न क्यानोपीहरूबाट भित्र/तल हेर्नका लागि अनुमति दिनेछ।

यस प्रकारको राडार पहिले कहिल्यै पनि अन्तरिक्षमा उडाइएको थिएन र बायोमासमा विशाल १२ मिटर एन्टेना जडान गरिनेछ जुन अन्तरिक्षयानले पृथ्वीमाथि आफ्नो उडान सुरु गर्दा तैनाथ गरिने बताइएको छ।

“यस अभियानले प्रभावकारी रूपमा अध्ययन गरेको जङ्गलहरूको तौल मापन गर्नेछ,” शेफिल्ड विश्वविद्यालयका प्रोफेसर शॉन क्वेगनले भने। “हामीलाई थाहा छ कि त्यसको आधा तौल कार्बनले बनेको हुनुपर्छ। त्यसैले हामी अन्तरिक्षबाट विश्वका ट्रपिकल जङ्गलहरूको कार्बन कन्टेन्ट (स्तर) तौल गर्न सक्षम हुनेछौं र, महत्त्वपूर्ण रूपमा, समयसँगै यी कति परिवर्तन भइरहेका छन् भनेर हेर्नेछौं। त्यसपछि हामी वायुमण्डलमा र बाहिर बग्ने कार्बनको सन्तुलन थाहा पाउनेछौं। त्यो अत्यन्त महत्त्वपूर्ण छ।”

यो बुँदालाई चेलीले समर्थन गर्दै “तापमान बढ्दै जाँदा पृथ्वी कस्तो देखिनेछ भनेर हामीले भविष्यवाणी गर्न सक्षम हुनु आवश्यक छ। त्यसैले हामी यसको डाटा एआई र मेसिन लर्निङका अन्य डिजिटल तत्वहरूसँग एकीकृत गर्नेछौं र त्यसले हामीलाई भविष्यमा के हुने सम्भावना छ भनेर बताउनेछ” उनले थप बताएको द गार्जियनले उल्लेख गरेको छ।

प्रकाशित: २६ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया