अब १० लाखमै इभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

Technology Khabar २६ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

नेपालको विश्वासिलो ट्याक्सी फ्लीट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरी विशेष अफर ल्याएको छ।

इजि एस्योरेन्स प्रा.लि.अन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार, २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरुको सट्टामा सोधभर्ना सुविधा अन्तर्गत तथा इभी ट्याक्सी सञ्चालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीलाई लक्षित गर्दे सरल तथा सजिलो ट्याक्सी किस्ताबन्दी कार्यक्रम सञ्चालनमा ल्याएको बताएको छ।

“देशमा रहेको बेरोजगारी समस्या र युवाको बढ्दो विदेश पलायनलाई रोक्ने लक्ष्य बनाएर हामीले यो इभी ट्याक्सीमा किस्ताबन्दी अफर ल्याएका हौं,” मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष संजित पौडेलले भने, “यसले देशभित्रै आत्मनिर्भर हुने र नियमित आम्दानीको अवसर दिनेछ।“

यसले वायु प्रदूषण न्यून गर्नुका साथै स्वच्छ उर्जाको प्रवर्द्धन गर्ने सरकारी नीतिलाई सहयोग पुग्नुका साथै ट्याक्सी चालकहरुलाई समेत आर्थिक लाभ हुने उनले बताए।

मेट्रो अनलाइन ट्याक्सीले ल्याएको अफरमा १० लाख रुपैयाँ डाउन पेमेन्ट तिरेपछि किस्ताबन्दीमा ट्याक्सी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। त्यस्तै, नेपाल सरकारको मापदण्डभित्र रहेका जुनसुकै ब्रान्डका इभी ट्याक्सीहरु यस योजना अन्तर्गत लिन सकिने व्यवस्था मिलाइएको छ।

यस किसिमको किस्ताबन्दी सुविधा विभिन्न बैंक तथा वित्तीय संस्था तथा गाडी कम्पनीहरुसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।

आधा दशकदेखि नेपालमा ट्याक्सी व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना भएको सेवाप्रदायक कम्पनी मेट्रो अनलाइन ट्याक्सीले एउटै छानामुनि ट्याक्सी सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले किस्ताबन्दीमार्फत किनेका ट्याक्सीहरुलाई नियमित मर्मत सम्भार सेवामा विशेष छुट समेत प्रदान गर्नेछ।

प्रकाशित: २६ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया