Technology Khabar २० चैत्र २०८१, बुधबार
काठमाडौं ।
नासा अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोरले पहिलो मानवसहितको उडानमा केही समस्या आए पनि आफूहरू फेरि बोइङको स्टारलाइटरमा यात्रा गर्न तयार रहेको बताएका छन्।
विल्मोर र विलियम्स गत जुन महिनामा स्टारलाइटरको पहिलो मानवसहितको अन्तरिक्ष यात्रा ‘क्रु फ्लाइट टेस्ट (सीएफटी)’ अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा गएका थिए। अन्तरिक्ष यानका थ्रस्टरहरूमा समस्या देखिएपछि नासा र बोइङले मिशनलाई लम्ब्याउने निर्णय गरे। यो समस्या हल गर्ने क्रममा उनीहरूको आठ दिनको लागि तय गरिएको मिशन नौ महिनासम्म लम्बियो।
अगस्टको अन्त्यतिर, नासाले स्टारलाइटरलाई चालक दलबिनै पृथ्वीमा फर्काउने निर्णय गर्यो। त्यसपछि विलियम्स र विल्मोरलाई स्पेसएक्सको क्रु-९ मिशनमा समावेश गरियो। क्रु-९ सेप्टेम्बरमा अन्तरिक्ष केन्द्रमा पुग्यो, जसमा नासा अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्द्र गोर्बुनोभ पनि थिए।
अहिले, धेरै अड्कलबाजी र राजनीतिक टिप्पणीहरूपछि सीएफटी अन्तरिक्षयात्रीहरूले आफ्नो मिशनबारे खुलेर बोलेका छन्। दुवैले आफूहरू पुनः स्टारलाइटरमा यात्रा गर्न इच्छुक रहेको बताएका छन्।
“हो, किनभने हामीले सामना गरेका सबै समस्याहरू समाधान गर्नेछौँ,” विल्मोरले सोमबार (मार्च ३१) पत्रकार सम्मेलनमा भने। “हामी यसलाई सुधार्नेछौँ, यसलाई सफल बनाउनेछौँ। बोइङ र नासा पूर्ण रूपमा प्रतिबद्ध छन्। त्यसैले, म फेरि बिना कुनै हिचकिचाहट यात्रा गर्नेछु।”
“यो एक उत्कृष्ट अन्तरिक्ष यान हो, जसमा अरू अन्तरिक्ष यानभन्दा बढी क्षमताहरू छन्,” विलियम्सले थपिन्। “यसलाई सफल भएको देख्न र यस कार्यक्रमको हिस्सा बन्न पाउनु सम्मानको कुरा हो।”
यो पत्रकार सम्मेलन नासाको जोनसन स्पेस सेन्टर, ह्युस्टनमा आयोजित गरिएको थियो। दुई हप्ताअघि स्पेसएक्सको क्रु ड्रागन फ्रीडमले विलियम्स, विल्मोर, हेग र गोर्बुनोभलाई बोकेर फ्लोरिडा तटमा सफल अवतरण गरेको थियो।

पत्रकार सम्मेलनमा तीन नासा अन्तरिक्षयात्रीहरूले भाग लिए (गोर्बुनोभ उपस्थित थिएनन्)। उनीहरूले आफ्नो मिशनप्रति देखाइएको चासोप्रति आभार व्यक्त गरे। साथै, विल्मोर र विलियम्सले अन्तरिक्षमा स्टारलाइटरले झेल्नुपरेका समस्याहरू र तिनको जिम्मेवारीबारे चर्चा गरे।
“तपाईं मलाई दोष दिन सक्नुहुन्छ,” विल्मोरले भने। “बोइङको जिम्मेवारी? हो। नासाको जिम्मेवारी? हो। यो सम्पूर्ण प्रक्रियाभर जिम्मेवारी बाँडिएको छ।”
कतिपयले यो मिशनलाई राजनीतिक रूपमा जोड्न खोजेका छन्। उदाहरणका लागि, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेसएक्सका प्रमुख एलन मस्कले बाइडेन प्रशासनले स्टारलाइटरका अन्तरिक्षयात्रीहरूलाई “अन्तरिक्षमा फसाएको” आरोप लगाएका थिए।
तर अन्तरिक्षयात्रीहरूका अनुसार उनीहरूको मिशन लम्बिनु सम्भावित योजनाको एक हिस्सा थियो।
“कार्यक्रमका धेरै विज्ञहरूले हाम्रो फर्कने समय र तरिका बारे सूक्ष्म रूपमा अध्ययन गरिरहेका थिए,” विलियम्सले बताइन्। “हामीलाई यो थाहा थियो, र आवश्यक परे कुर्न तयार थियौँ।”
उनीहरूले अन्तरिक्षमा रहँदा पृथ्वीमा भइरहेको राजनीतिक बहसबारे धेरै जानकारी नपाएको बताए। “जब हामी अन्तरिक्षमा कार्यरत हुन्छौँ, त्यहाँ राजनीति महसुस हुँदैन,” हेगले भने। “हाम्रो ध्यान केवल मिशनमा केन्द्रित हुन्छ।”

हेगले विलियम्स र विल्मोरलाई क्रु-९ ड्रागनमार्फत फिर्ता ल्याउने योजना उनीहरु प्रस्थान गर्नुअघि नै तय गरिएको बताएका छन्।
“पहिलो दिनदेखि नै हामी फेब्रुअरीको अन्त्यतिर फर्कने योजनामा थियौँ,” उनले भने। “यो सबै योजना त्यतिबेला लागू हुने थियो जब प्रतिस्थापन टोली आइपुग्थ्यो र हामीले उनीहरूसँग पर्याप्त हस्तान्तरण प्रक्रिया गर्न सक्थ्यौँ।”
स्पेसएक्सको क्रू-१० मिशन मार्च १४ मा प्रक्षेपण भएको थियो र केही घण्टापछि ISS मा पुगेको थियो। अन्तरिक्ष केन्द्रमा दलहरूको आंशिक ओभरलय हुनु सामान्य प्रक्रिया हो, साथै नासाको सञ्चालन निरन्तरताका लागि आवश्यक सर्त पनि भएको स्पेसएक्सले उल्लेख गरेको छ।
“अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको मिशनलाई निरन्तरता दिनु महत्त्वपूर्ण छ, अनुसन्धान र अन्वेषणलाई अघि बढाउनु पर्छ, र यो कहिल्यै प्रश्नको विषय बनेन,” हेगले भने।
विलियम्स र विल्मोर पृथ्वी फर्किएपछि पनि स्टारलाइटर कार्यक्रमसँग जोडिन चाहन्छन्। उनीहरूको सन्देश छ: स्टारलाइटरलाई अझै पनि नछुट्याउनुहोस्।
विल्मोरका अनुसार, उनीहरू यसै सातामा बोइङ नेतृत्वसँग भेट गर्दैछन् र स्टारलाइटरका समस्याहरूबारे छलफल गर्नेछन्। “उनीहरू हामीसँग बसेर छलफल गर्न चाहन्छन्,” उनले भने।
यो कठिन मिशनले विलियम्स र विल्मोरलाई विशेष अनुभव दिलाएको छ। उनीहरू नै एकमात्र अन्तरिक्षयात्री हुन् जसले स्टारलाइटर र क्रूड्रागन दुवैमा यात्रा गरिसकेका छन्, जुन नासाले ISS सम्म यात्रु ओसारपसार गर्न सम्झौता गरेका दुई व्यावसायिक अन्तरिक्षयान हुन्।
दुवै अन्तरिक्षयात्रीहरूले यी यानहरू फरक विशेषताका लागि उत्कृष्ट रहेको बताए।
“दुवै आफ्नै कारणले उत्कृष्ट छन्,” विलियम्सले भनिन्। “ड्रागन धेरै आरामदायी अन्तरिक्षयान हो, जसले तपाईंलाई जहिले पनि के भइरहेको छ भन्ने बताइरहन्छ।” त्यसपछि उनले स्टारलाइटरका केही अद्वितीय, म्यानुअल रूपमा नियन्त्रण गर्न सकिने सुविधाहरूको प्रशंसा गरिन्।
विल्मोरले पनि स्टारलाइटरको यही विशेषता उल्लेख गरे — अन्य यानहरूको तुलनामा अन्तरिक्षयात्रीहरूले जहिले पनि त्यसलाई म्यानुअल रूपमा नियन्त्रण गर्न सक्ने। क्रूड्रागन भने पूर्ण रूपमा स्वचालित छ।
“लञ्च अघि म हास्दै भन्थेँ कि म ISS माथि स्टारलाइटरले ब्यारेल रोल गर्न सक्छु,” विल्मोरले भने। “म कहिल्यै त्यस्तो गर्ने छैन, तर यो सम्भव छ। यो यान निकै सक्षम छ।”
क्रु ड्रागनबारे भने उनीहरूले एउटा कुरा जोड दिए: “अझ बढी भेक्रो स्ट्रीपहरू।” ड्रागनको सफा डिजाइनमा थोरै बटनहरू भएका कारण, भित्र भेक्रो स्ट्रीपहरू थप्ने ठाउँ धेरै छ, जसले कलम वा नोटबुकजस्ता वस्तुहरू उड्नबाट जोगाउन मद्दत गर्छ।
विल्मोरले भने, स्टारलाइटरको भविष्य राम्रो देखिन्छ, किनकि यसको क्षमता उच्च छ, र नासा तथा बोइङ दुवै यसमा पूर्ण प्रतिबद्ध छन्।
“हामीले थ्रस्टर र हिलियम प्रणालीका केही मुख्य समस्याहरू समाधान गर्न सकेमा स्टारलाइटर उड्न तयार छ,” उनले भने। तर उनले थपे, “यो एकै रातमा समाधान हुने छैन।”
प्रकाशित: २० चैत्र २०८१, बुधबार