यूट्युबको भिडियो रेजोल्युसनमा देखियो समस्या, के तपाईँ पनि पीडित हुनुभयो?

Technology Khabar ९ चैत्र २०८१, शनिबार

काठमाडौं ।

यूट्युब प्रयोगकर्ताहरूले विगत केही दिनदेखि भिडियो प्लेब्याक क्वालिटी (गुणस्तर) मा उत्पन्न समस्याहरू बारे रिपोर्ट गरेका छन्। समस्याहरू बारे रिपोर्ट गर्ने प्रयोगकर्ताहरू प्रायः सबै प्लेटफर्मबाट भएको बताइएको छ।

इन्टरनेट कनेक्सन स्थिर भए पनि, भिडियोहरू प्रायः कम रेजोल्युसन जस्तै १४४पी (पिक्सेल) वा ३६०पी (पिक्सेल) मा स्वचालित रूपमा प्ले हुने गरेको बताइएको छ भने उच्च गुणस्तर सेट गर्ने प्रयासले अवरोध र बारम्बार लोडिङ (बफरिङ) निम्त्याउने गरेको उल्लेख छ।

रेडिट जस्ता प्लेटफर्महरूमा अत्यधिक गुनासो देखा परेका छन् र प्रयोगकर्ताहरूले यो समस्या स्मार्ट टिभी, आईओएस डिभाइसहरूका साथै डेस्कटप कम्प्युटरहरूमा सबैभन्दा बढी रहेको बताएका छन्। यसैबीच, एन्ड्रोइड फोन र ट्याब्लेटहरूमा भने कुनै पनि समस्या बिना नै एपले काम गरिरहेको उल्लेख छ।

“प्रत्येक पटक जब म भिडियो वा यूट्युब शर्ट्स खोल्छु, यो स्वचालित रूपमा धेरै कम गुणस्तरमा प्ले हुन्छ, जस्तै १४४पी (पिक्सेल) र म केवल पिक्सेल मात्र देख्न सक्छु। म रेजोल्युसन परिवर्तन गर्न सक्छु, तर यस्तो पहिले कहिल्यै भएको थिएन” रेडिटमा एक आईओएस प्रयोगकर्ताले लेखेका छन्।

केही प्रयोगकर्ताहरूले ७२०पी (पिक्सेल) जस्तो माथिको उच्च गुणस्तर म्यानुअल रूपमा चयन गरेपछि पनि भिडियो १४४पी (पिक्सेल) मा अड्किएकोले गर्दा भिडियो हेर्न असम्भव भएको पनि रिपोर्ट गरेका थिए।

यूट्युबले समस्याहरुबारे स्वीकार गरेको र यसलाई समाधान गर्न काम गरिरहेको टेलीग्राफले उल्लेख गरेको छ।

“हामीलाई थाहा छ कि तपाईंहरू मध्ये केहीले यूट्युब मा भिडियो र छोटो भिडियो हेर्दा सामान्य भन्दा कम भिडियो गुणस्तरको अनुभव गरिरहनुभएको छ। हामी समस्याको अनुसन्धान गरिरहेका छौं र समाधानमा काम गरिरहेका छौं। हामीसँग थप जानकारी हुने बित्तिकै हामी यो थ्रेड अपडेट गर्नेछौं। तपाईंको धैर्यताको लागि धन्यवाद!” प्लेटफर्मले आफ्नो आधिकारिक समर्थन पृष्ठमा घोषणा गरेको छ।

प्रकाशित: ९ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया