अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्-टेस्ला डिलरशिपमा भएको हिंसालाई घरेलु आतंकवादको रूपमा लिइनेछ

Technology Khabar २८ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

डोनाल्ड ट्रम्पले टेस्ला डिलरशिपमा भएको हिंसालाई घरेलु आतंकवादको रूपमा चिन्हित गर्ने बताएका छन्। यो बयान व्हाइट हाउसका रिपोर्टरहरूले साझा गरेको ट्रान्सक्रिप्टमा उल्लेख छ, जसले एलन मस्कसँगको ट्रम्पको गहिरिँदो सम्बन्ध देखाउँछ।

“टेस्ला टेकओभर” नामका प्रदर्शनहरू विश्वभरका टेस्ला डिलरशिपहरूमा भइरहेको छन्। प्रदर्शनकारीहरूले मस्क र उनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी डजी (डीओजीई) ले संघीय सरकारलाई जबरजस्ती आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाउँदै विरोध जनाइरहेका छन्। कतिपय प्रदर्शनहरूमा टेस्लाका साइनबोर्डहरूमा ग्राफिटी गरिएको, चार्जिङ स्टेसनहरूमा आगो लगाइएको, र केही डिलरशिपहरूमा मोलोटोभ ककटेलसमेत प्रहार गरिएको छ।

टेकक्रञ्चका अनुसार यी प्रदर्शन र तोडफोड टेस्लाको सेयर मूल्यमा गिरावट आएको बेला भएको हो। नोभेम्बर २०२४ मा ट्रम्पको निर्वाचन जितपछि टेस्लाको सेयर मूल्य उचालिएपनि त्यसपछि समग्र सेयर बजारभन्दा खराब प्रदर्शन गरिरहेको छ। साथै, मस्कका राजनीतिक गतिविधिका कारण विश्वभर टेस्लाको बिक्री घटेको छ।

ट्रम्पले मंगलबार व्हाइट हाउसमा मस्कसँगको भेटपछि भने, “म यी घटनाहरू रोक्छु। हामी टेस्लाको सम्पत्तिमा हिंसा गर्ने कसैलाई पनि समात्छौं किनकि तिनीहरू एउटा महान अमेरिकी कम्पनीलाई हानी पुर्‍याइरहेका छन्।”

फेडरल कानुनअनुसार, यदि कुनै कम्पनीको सम्पत्तिमा आक्रमणले नागरिक जनतालाई डराउन, सरकारी सम्पत्तिलाई असर गर्न, वा विनाश, हत्या, अपहरणद्वारा सरकारी गतिविधिलाई प्रभावित पार्न खोजेको उद्देश्य छ भने त्यसलाई घरेलु आतंकवाद मान्न सकिने टेकक्रञ्चले उल्लेख गरेको छ।

केही हप्तायता, यी टेस्ला विरोधहरू “#TeslaTakedown” नामक विकेन्द्रित आन्दोलनमा परिणत भएका छन्। आन्दोलनका आयोजकहरूले टेकक्रन्चलाई भने, “शान्तिपूर्ण विरोध अमेरिकी लोकतन्त्रको आधारभूत अधिकार हो।

ट्रम्पले आफ्नो सबैभन्दा ठूलो डोनरको व्यवसायलाई लोकतन्त्रभन्दा बाहिर राख्न खोज्दैछन्। हामी यसलाई स्वीकार्दैनौं। हाम्रो आन्दोलन अहिंस्रक छ। सार्वजनिक सम्पत्तिमा शान्तिपूर्ण प्रदर्शन घरेलु आतंकवाद होइन। तिनीहरू हामीलाई धम्क्याउन खोजिरहेका छन्, तर हामी हार मान्दैनौं।”

प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया