सीप अनुसारको रोजगारी नहुँदा आईटीमा स्नातक युवा समेत विदेशिँदै

  • Technology Khabar | २६ फाल्गुन २०८१, सोमबार
सीप अनुसारको रोजगारी नहुँदा आईटीमा स्नातक युवा समेत विदेशिँदै

काठमाडौं ।

सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ। बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ। गाउँ सुनसान पारेर शहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त। चिया पसलकै एउटा कुनामा भेटिए पुजन बस्नेत।

उनी तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन्। २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी)मा स्नातक गरेका छन्। उनीसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ। तर सीप अनुसारको काम र कमाई छैन।

बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गरे। तर लगानीको अभावले सम्भव भएन। बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो।

उनले भने, “लगानी छैन। विना धितो बैङ्कले कर्जा दिँदैन। त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु।” रोजगारीका लागि विदेशिने निर्णय उनको रहर नभएर बाध्यता हो। त्यसो त उनले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिएका थिए। १५ पटक परीक्षा दिए। लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन।

हुन त पुजनले जिल्लास्थित एक संस्थामा काम गरिरहेका छन्। तर श्रमअनुसारको पारिश्रमक नपाउँदा उनमा नैराश्य छाएको छ। बिहानदेखि रातिसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उनको गुनासो छ।

यो केवल बस्नेतको कथा मात्र होइन। उनी जस्ता धेरै युवाहरु यही बाध्यताले विदेशिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन्।

बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा छिन्। उनी पढाइलाई निरन्तरता दिने वा अधुरै छाड्ने भन्ने अन्योलमा हुनुहुन्छ। “घरको अवस्था दयनीय छ। जागिर छैन। दैनिक खर्च चलाउन गाह्रो छ। अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले भनिन्।

सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन्। उनीहरूसँग कुराकानी हुन्छ। विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ।

पुजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन्। जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ। आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन्।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा वर्षेनी १० हजार युवा जिल्लाबाट विदेशिएका छन्।

वैदेशिक रोजगार र पढाइको सिलसिलामा विदेशिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भएपनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन।

सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतै मृत्यु भएको छ। ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भइ फर्किएका छन्। यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ।-रासस

प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • २६ फाल्गुन २०८१, सोमबार