चर्चित अमेरिकी गायिका केटी पेरी ब्लू ओरिजिनको न्यू शेफर्ड रकेटमार्फत् अन्तरिक्षमा जाने

Technology Khabar १७ फाल्गुन २०८१, शनिबार

काठमाडौं ।

चर्चित अमेरिकी गायिका केटी पेरी यस वर्षको अन्त्यतिर ब्लू ओरिजिनको न्यू शेफर्ड रकेटमा अन्तरिक्षमा जाने भएकी छिन्। ईटी र फायरवर्कजस्ता चर्चित गीतहरूकी गायिका पेरी पहिलो पूर्ण महिलामात्र भएको अन्तरिक्ष मिसनको हिस्सा बन्नेछिन्।

यो मिशन यही वसन्त ऋतुमा प्रक्षेपण हुनेछ, जसको नेतृत्व ब्लू ओरिजिनका संस्थापकजेफ बेजोसकी पार्टनर लरेन साञ्चेजले गर्नेछिन्। उनले सेलिब्रेटीहरू, वैज्ञानिकहरू, र पत्रकारहरू मिलाएर एक प्रतिष्ठित टोली तयार पारेकी स्पेस डटकमले उल्लेख गरेको छ।

“ब्लू ओरिजिनको पहिलो सम्पूर्ण महिला टोलीको हिस्सा हुन पाउँदा केटी सम्मानित महसुस गरिरहेकी छिन्। उनले आफ्नो यात्रा आफ्नी छोरी र अन्यलाई ताराहरू छुन प्रेरित गर्ने आशा राखेकी छिन्,” ब्लू ओरिजिनले एक विज्ञप्तिमा भनेको छ।

साञ्चेज र पेरीसँगै यो अन्तरिक्ष यात्रामा स्टेमबोर्डका सीईओ तथा पूर्व नासा वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता केरियन फ्लिन, सीबीएस मर्निङ्सका सह-प्रस्तोता गेल किङ र जैव-अन्तरिक्ष अनुसन्धान वैज्ञानिक अमाण्डा न्युएन रहनेछन्।

उनीहरूको मिसन १९६३ मा सोभियत संघले भ्यालेन्टिना तेरेस्कोभालाई अन्तरिक्षमा पठाएपछि पहिलो पूर्ण महिलाहरूको टोलीको रूपमा रहनेछ। ब्लू ओरिजिनका अनुसार साञ्चेजले “यो मिशनले नयाँ पुस्ताका अन्वेषकहरूलाई प्रेरित गर्ने” आशा राखेकी छिन्।

ब्लू ओरिजिनले यो एनएस-३१ मिसनको घोषणा एनएस-३० मिशनको सफल प्रक्षेपणको दुई दिनपछि गरेको हो। पछिल्लो उडानमा ६ यात्रु थिए, जसमा भेञ्चर क्यापिटालिस्ट लेन बेस, स्पेनिश टिभी होस्ट जिजस क्यालेया, भौतिकशास्त्री एलायन चिया हाइडे, चिकित्सक रिचर्ड स्कट, हेज फण्ड पार्टनर तुषार शाह र एक अन्य बेनामे सदस्य रहेका थिए।

स्पेस डटकमका अनुसार ब्लू ओरिजिनको न्यू शेफर्ड रकेट पुन: प्रयोग गर्न मिल्ने प्रणाली हो, जसले यात्रुहरू र वैज्ञानिक प्रयोगहरूलाई छोटो उप-कक्षीय यात्रामा लैजान्छ। यद्यपि यसले पृथ्वीको परिक्रमा गर्न सक्दैन, यो करिब १०० किलोमिटर उचाइ अर्थात् कार्मन लाइन पार गर्छ, जुन अन्तरिक्षको सीमा मानिन्छ।

यस यात्राको अवधि करिब ११ मिनेट मात्र हुनेछ, जसमा यात्रुहरूले ४ मिनेटको भारहीनता अनुभव गर्न र अन्तरिक्षबाट पृथ्वीको अवलोकन गर्न सक्नेछन्।

प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया