
काठमाडौं ।
युरोपेली संघका प्रयोगकर्ताको डाटा चीनमा अवैधानिक रूपमा पठाएको आरोपमा टिकटक, शीन, शाओमी र तीन अन्य चिनियाँ कम्पनीहरूविरुद्ध गोपनीयतासम्बन्धी उजुरी दायर गरिएको छ।
अस्ट्रियाली अभियान समूह नोयबले बिहीबार यो उजुरी दायर गरेको हो। यस समूहले यसअघि एप्पल, अल्फाबेट र मेटाजस्ता अमेरिकी कम्पनीविरुद्ध उजुरी दायर गरी कैयौं अनुसन्धान र अर्बौं जरिवानाको कारण बनेको थियो।
भियना-आधारित एनओवाईबी (नन अफ योर बिजनेस) ले यो चिनियाँ कम्पनीहरूमाथिको पहिलो उजुरी रहेको जनाएको छ।
रोयटर्सका अनुसार एनओवाईबीले चार यूरोपेली देशमा डाटा चीनमा पठाउन रोक्न ६ वटा उजुरी दायर गरेको छ र जरिवाना स्वरूप कम्पनीको वार्षिक विश्वव्यापी राजस्वको ४ प्रतिशतसम्मको सजायको माग गरेको छ।
एनओवाईबीका अनुसार अलीबाबाको ई-कमर्स साइट अलीएक्सप्रेस, खुद्रा बिक्रेता शीन, टिकटक र फोन निर्माता शाओमीले युरोपेलीहरूको व्यक्तिगत डाटा चीनमा पठाउने स्वीकार गरेका छन्। यसैगरी, खुद्रा बिक्रेता टेमु र टेन्सेन्टको मेसेन्जर एप वीच्याटले डेटा अज्ञात “तेस्रो देशहरू,” सम्भवतः चीनमा स्थानान्तरण गर्ने गरेका पाइएको छ।
युरोपेली संघको सामान्य डाटा सुरक्षा नियमावली (जीडीपीआर) अनुसार, युरोपबाहिर डाटा स्थानान्तरण त्यतिबेला मात्र मान्य हुन्छ जब गन्तव्य देशले डेटा सुरक्षा मापदण्ड कमजोर नगर्ने निश्चित गरिन्छ।
एनओवाईबीकी डाटा संरक्षण वकिल क्लेन्थी सार्डेलीले भनिन्, “चीन एक अधिनायकवादी निगरानी राज्य भएकोले, चीनले युरोपेली संघजस्तो डाटा सुरक्षा प्रदान नगर्ने स्पष्ट छ। युरोपेलीहरूको व्यक्तिगत डाटा स्थानान्तरण अवैध छ र तत्काल रोक्नुपर्छ।”
चिनियाँ कम्पनीहरू, विशेष गरी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक, विभिन्न देशका नियामकहरूसँग समस्यामा पर्दै आएको छ। टिकटकले आइतबारदेखि अमेरिकी प्रयोगकर्ताहरूका लागि आफ्नो एप बन्द गर्ने योजना बनाएको छ, किनकि त्यही दिन सामाजिक सञ्जाल एपमा संघीय प्रतिबन्ध लागू हुने तय भएको छ।
युरोपेली आयोगले पनि टिकटकमाथि विशेषगरी नोभेम्बरमा रोमानियाली राष्ट्रपति चुनावमा हस्तक्षेपको सीमा नगरेको आशंकामा अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ४ माघ २०८१, शुक्रबार