Technology Khabar २९ पुष २०८१, सोमबार
काठमाडौं ।
अन्टार्कटिकामा हिउँको विशाल थुप्रोभित्र रहेको एउटा पहाड माथिबाट हेर्दा प्राचीन मिस्रको पिरामिडजस्तो देखिन्छ। तर यो चुचुरो कुनै मानिस (वा एलियन)ले बनाएको नभई वर्षौंसम्मको क्षय र कटान प्रक्रियाबाट बनेको हो।
यो पिरामिड आकारको पहाडको कुनै औपचारिक नाम छैन। यो पहाड सन् २०१६ मा इन्टरनेटमा भाइरल भए पनि वैज्ञानिकहरूले यसबारे त्यसअघि नै जानकार भएको अनुमान छ।
मासाचुसेट्सको निकोल्स कलेजका वातावरण विज्ञान प्राध्यापक मोरी पेल्टोका अनुसार यो पहाडलाई नजिकैको प्याट्रियट हिल्स भन्ने क्षेत्रबाट पनि देख्न सकिन्छ जहाँ जलवायु वैज्ञानिकहरूको अनुसन्धान केन्द्र छ।
लाइभसाइन्सका अनुसार यो पिरामिड आकारको पहाड करिब ४,१५० फिट (१,२६५ मिटर) अग्लो छ, जुन उत्तर अमेरिकाको सबैभन्दा अग्लो पहाड डेनालीको पाँचौँ भाग बराबर हो। यसका चारवटा तेजिला पाटाहरु छन् र यो दक्षिणी एल्सवर्थ पर्वत श्रृंखलामा रहेको छ। यो क्षेत्र अमेरिकी उडान चालक लिन्कन एल्सवर्थले १९३५ मा पहिलो पटक पत्ता लगाएका थिए।
एल्सवर्थ पर्वत श्रृंखलाको भूभाग करिब ५० करोड वर्ष पुराना ट्राइलोबाइट र अन्य जीवका अवशेषका लागि प्रसिद्ध छ, जुन क्याम्ब्रियन काल (५४१ मिलियनदेखि ४८५.४ मिलियन वर्ष अगाडिको समय)सँग सम्बन्धित छ।
यो पहाडको आकार फ्रिज-थ: इरोजन (फ्रीज-थ: कटान) नामक प्रक्रियाबाट बनेको मानिन्छ। यस प्रक्रियामा, दिनभर पानी र हिउँले चिराहरू भरिन्छन् र राति जम्दा विस्तार हुन्छन्, जसले गर्दा चिराहरू ठूलो बन्दै अन्ततः पहाडका ठूला चट्टान खसेर अलग हुन्छन्। यसरी, पहाडको तीन पाटा समान रूपमा कटान भए, तर पूर्वी भाग स्वतन्त्र रूपमा बनेको प्राध्यापक पेल्टोले बताएका लाइभसाइन्सले उल्लेख गरेको छ।
यस प्रक्रियाले स्विस आल्प्सको प्रसिद्ध माटरहर्न जस्ता अन्य पिरामिड आकारका पहाडहरू पनि बनाएको हुन सक्ने आकलन गर्न सकिन्छ।
२०१६ मा भाइरल भएपछि यो पहाडको पिरामिड आकारबारे विभिन्न षड्यन्त्र सिद्धान्तहरू अघि आए। कतिपयले यसलाई बिर्सिएको सभ्यता वा बाह्य अन्तरिक्षका एलियनको काम भएको तर्क गरे। तर, यो “पिरामिडजस्तो देखिने सामान्य पहाड” मात्र भएको प्राध्यापक एरिक रिग्नोटले बताएका छन्।
“पिरामिड आकार असम्भव होइन। धेरै पहाडका एक वा दुई पाटा पिरामिडजस्ता देखिन्छन्, तर चारवटा पाटा पिरामिड आकारमा देखिनु दुर्लभ हो,” उनले भने।
प्रकाशित: २९ पुष २०८१, सोमबार