प्लेटफर्मलाई समाचार र पत्रकारिताको भविष्यको केन्द्र बनाउन एक्सद्वारा नयाँ नेतृत्व नियुक्त

  • Technology Khabar | २५ पुष २०८१, बिहीबार
प्लेटफर्मलाई समाचार र पत्रकारिताको भविष्यको केन्द्र बनाउन एक्सद्वारा नयाँ नेतृत्व नियुक्त

काठमाडौं ।

एक्सले आफ्नो प्लेटफर्मलाई समाचार र पत्रकारिताको भविष्यको केन्द्र बनाउने उद्देश्यले नयाँ कदम चालेको छ। यसै सन्दर्भमा कम्पनीले द वालस्ट्रीट जर्नलका पूर्व सम्पादक र डेट्रोइट ब्युरो प्रमुख जोन स्टोललाई आफ्नो समाचार समूह र साझेदारी टोलीको नेतृत्व गर्न नियुक्त गरेको छ। यो घोषणा सीईएस २०२५ मा एक्स कर्पको मुख्य प्रस्तुतिका क्रममा मंगलबार गरिएको थियो।

प्रस्तुतिका क्रममा अन्तरवार्ता लिने क्याथरिन हेरिजले एक्सले कुनै समाचार पोर्टल सुरु गर्ने सोचिरहेको छ कि भनेर सोधेकोमा एक्स कर्पकी सीईओ लिण्डा याकारिनोले पत्रकारहरूले एक्समा आफ्नो प्रतिभा प्रस्तुत गर्न, उत्कृष्ट काम गर्न र राम्रो आम्दानी गर्न पाउने अवसरप्रति आफू उत्साहित रहेको बताइन्।

टेकक्रञ्चका अनुसार याकारिनोले एक्सको क्रिएटर रेभेन्यु शेयर प्रोग्रामलाई उल्लेख गरिन्। यो प्रोग्रामले प्रिमियम एक्स प्रयोगकर्ताबाट अधिक संलग्नता पाउने सामग्रीका स्रष्टाहरूलाई आर्थिक रूपमा पुरस्कृत गर्दछ।

सशुल्क सदस्यता लिएका र न्यूनतम अनुयायी तथा इम्प्रेशनका आधारभूत मापदण्ड पूरा गरेका क्रिएटरहरूले आफ्ना सामग्रीबाट संलग्नता अनुसार आम्दानी गर्न सक्छन्।

पत्रकारहरूलाई क्लिकमा आधारित तलब दिनु नयाँ अवधारणा होइन। बजफीडले आफ्नो गम्भीर समाचारलाई गसिप, क्विज, र पप कल्चरका कथाबाट सब्सिडी दिएको इतिहास छ। तर फेसबुकको एल्गोरिदम परिवर्तनले यसलाई चुनौती दिएको टेकक्रञ्चले उल्लेख गरेको छ।

यदि व्यवसायिक रूपमा फाइदा भएमा एक्स पनि भविष्यमा आफ्नो एल्गोरिदम परिमार्जन गरेर समाचारको प्राथमिकता घटाउन सक्ने बुझिएको छ। सीईओ याकारिनोले भनेकी छिन्, “समाचारको भविष्य परम्परागत मिडिया होइन।”

उनले थप भनिन्, “परम्परागत मिडिया समाचार अब लगभग एउटा फ्यान सेवा जस्तो भएको छ, जसले एक निश्चित दर्शक वर्गलाई मात्र सम्बोधन गरेर आफ्नो बजेट बनाउँछ। तर हामी यस्तो प्लेटफर्म दिन चाहन्छौं जहाँ पत्रकारिताको जिज्ञासा फिर्ता आउनेछ।”

प्रकाशित: २५ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार