चीनका ह्याकरहरुले प्रभावित पारेका कम्पनीहरुको सूची यसअघि थाहा भएकोभन्दा अझ धेरै: वालस्ट्रीट जर्नल

Technology Khabar २२ पुष २०८१, सोमबार

चीनका ह्याकरहरुले प्रभावित पारेका कम्पनीहरुको सूची यसअघि थाहा भएकोभन्दा अझ धेरै: वालस्ट्रीट जर्नल
सांकेतिक तस्बिर

काठमाडौं ।

चिनियाँ ह्याकरहरूले अमेरिकी दूरसञ्चार नेटवर्कमा पहिले सोचेभन्दा धेरै कम्पनीहरूलाई प्रभावित गरेको खुल्न आएको छ। यी कम्पनीहरुमा चार्टर कम्युनिकेशन्स, कन्सोलिडेटेड कम्युनिकेशन्स र विण्डस्ट्रिम पनि समावेश रहेको वाल स्ट्रीट जर्नलले शनिबार रिपोर्ट गरेको छ।

ह्याकरहरूले सुरक्षा बिक्रेता फोर्टिनेटका अद्यावधिक नगरिएका नेटवर्क उपकरणहरू र सिस्को सिस्टम्सका ठूला नेटवर्क राउटरहरूमा पनि आक्रमण गरेका रिपोर्टले उल्लेख गरेको छ।

एटीएण्डटी र भेरिजोनको नेटवर्कमा भएको गहिरो घुसपैठसँगै ह्याकरहरूले ल्यूमेन टेक्नोलोजिज र टी-मोबाइलका नेटवर्कहरूमा पनि आक्रमण गरेको जर्नलले जनाएको छ।चीनले यस्ता कार्यहरूमा संलग्न रहेको अस्वीकार गर्दै अमेरिका माथि गलत सूचना फैलाएको आरोप लगाएको छ।

रिपोर्टले चिनियाँ ह्याकिङको आकार र दायराबारे बढ्दो चिन्ता रहेको जनाउँछ। यसले कम्पनीहरू र सरकारले अमेरिकालाई यो समस्याको समाधानका बारेमा कहिले आश्वस्त गर्न सक्ने भन्ने प्रश्न पनि उठाएको रोयटर्सले उल्लेख गरेको छ।

सन् २०२३ को शरद ऋतुमा एउटा गोप्य ह्वाइट हाउस बैठकमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले टेलिकम र प्रविधि क्षेत्रका कार्यकारीहरूलाई चिनियाँ ह्याकरहरूले अमेरिकी बन्दरगाहहरू, पावर ग्रिडहरू, र अन्य पूर्वाधारमा आक्रमण गरी ती बन्द गर्न सक्ने क्षमता प्राप्त गरेको बताएका थिए।

सल्ट टाइफून नामको चिनियाँ साइबर-जासुसी अभियानले एटीएण्डटी र भेरिजोनका प्रणालीहरूलाई निशाना बनाएको थियो। तर यी वायरलेस क्यारियरहरूले कानून प्रवर्तन र सरकारी अधिकारीहरूसँग मिलेर आफ्ना अमेरिकी नेटवर्कहरू सुरक्षित बनाएको गत हप्ता पहिलो पटक स्वीकार गरेका छन्।

ल्यूमेनले आफ्नो नेटवर्कमा आक्रमणकारीहरूको कुनै गतिविधि नदेखिएको र कुनै ग्राहकको डाटामा पहुँच नगरिएको जनाएको छ। टी मोबाइलले आफ्ना प्रणालीहरूमा आक्रमण गर्ने पछिल्ला प्रयासहरू रोकिएको र संवेदनशील ग्राहक जानकारी सुरक्षित राखिएको बताएको छ।

रोयटर्सका अनुसार भेरिजोनले हाइ-प्रोफाइल सरकारी र राजनीतिक ग्राहकहरूलाई लक्षित गरिएको बताउँदै ती व्यक्तिहरूलाई सूचित गरिएको उल्लेख गरेको छ। कम्पनीका प्रमुख कानुनी अधिकारी वन्दना बैंकटेशले “भेरिजोनले यो घटनासँग सम्बन्धित गतिविधिहरू नियन्त्रणमा लिएको” बताएकी छिन्।

सिस्को तथा फोर्टिनेटले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। सल्ट टाइफूनको लक्ष्यमा डेमोक्रेट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पको राष्ट्रपतिको चुनावी अभियानसँग सम्बन्धित अधिकारीहरू पनि रहेका थिए।

प्रकाशित: २२ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया