अमेरिकी नियामकले बैंकहरुलाई क्रिप्टोबारे अवगत गरायो तर कारोबार रोकेन

Technology Khabar २२ पुष २०८१, सोमबार

काठमाडौं ।

अमेरिकी बैंक नियामक फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) ले २०२२ र २०२३ मा बैंकहरूलाई क्रिप्टोमा प्रत्यक्ष संलग्नता रोक्न आग्रह गरे पनि क्रिप्टो कम्पनीहरूप्रति बैंकिङ सेवाहरू बन्द गर्न आदेश दिएको छैन। शुक्रबार सार्वजनिक गरिएका कागजातहरूबाट यो तथ्य खुलेको हो।

एफडीआईसी ले बैंकहरूलाई पठाएका गोप्य “पज लेटरहरू” सार्वजनिक गर्नुपर्ने न्यायाधीशको आदेशपछि यी कागजातहरू बाहिर आएका हुन्। यो मुद्दा क्रिप्टो एक्सचेन्ज कम्पनी क्वाइनबेसको अनुसन्धान फर्म हिस्ट्री असोसियट्स इन्कर्पोरेटेडले दायर गरेको थियो।

एफडीआईसीले डिसेम्बरमा यी पत्रहरू पहिलो पटक सार्वजनिक गरे पनि न्यायाधीशले थप “विवेकपूर्ण संशोधन” गरी पुनः प्रस्तुत गर्न निर्देशन दिएका थिए। नयाँ २५ पत्रहरूको ब्याचमा अघिल्लो प्रस्तुतिमा समावेश नभएका थप दुई पत्र समावेश रहेको रोयटर्सले उल्लेख गरेको छ।

क्वाइनबेस र अन्य क्रिप्टो कम्पनीहरूले अमेरिकी बैंक पर्यवेक्षकरूमाथि क्रिप्टो कम्पनीहरूलाई परम्परागत वित्तीय प्रणालीबाट हटाउने प्रयास गरेको आरोप लगाएका छन्। क्वाइनबेसका मुख्य कानूनी अधिकारी पल ग्रेवालले शुक्रबार एक्समा लेख्दै “क्रिप्टो गतिविधि रोक्नको लागि समन्वित प्रयास” देखाएको बताएका छन् र यसबारे थप छानबिन गर्न कांग्रेसलाई आग्रह गरेका छन्।

एफडीआईसी ले २०२२ को आन्तरिक मेमो पनि सार्वजनिक गरेको छ, जसले क्रिप्टो सम्पत्तिहरूमा प्रत्यक्ष संलग्न हुन खोज्ने बैंकहरूको प्रश्नहरूको मूल्यांकन कसरी गर्ने भन्ने स्पष्ट पार्छ।

यी कागजातहरूले बैंक पर्यवेक्षण प्रक्रियाको दुर्लभ झलक दिन्छन्। एफडीआईसी ले क्रिप्टो क्षेत्रमा देखिने घोटाला, दिवालिया र अस्थिरता जस्ता समस्याप्रति सतर्कता अपनाएको देखाउँछ, तर बैंकहरूले क्रिप्टो क्षेत्रसँगको सम्बन्ध पूर्ण रूपमा तोड्ने आदेश दिएको देखिँदैन।

यी कागजातहरू राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनले क्रिप्टो नीति परिवर्तनको खाका सार्वजनिक गर्नुअघि सार्वजनिक भएका छन्। ट्रम्पले जनवरी २० को उद्घाटन समारोहमा बैंक नियामकहरूलाई क्रिप्टो क्षेत्रमा सजिलो नीति लागू गर्न कार्यकारी आदेश जारी गर्ने अपेक्षा गरिएको छ।

कागजातहरूले एफडीआईसीले केही बैंकहरूलाई क्रिप्टोसँग सम्बन्धित पहलहरू रोक्न वा थप विस्तार नगर्न निर्देशन दिएको देखाउँछ। अन्य केहीमा, बैंकहरूलाई क्रिप्टो योजनाहरू अघि बढाउनुअघि विस्तृत प्रश्नहरूको उत्तर दिनुपर्ने उल्लेख गरिएको थियो।

एफडीआईसी को मेमोमा बैंकले प्रत्यक्ष रूपमा क्रिप्टो गतिविधिमा संलग्न हुने (जस्तै, क्रिप्टो सम्पत्तिहरूको सुरक्षा राख्ने) र क्रिप्टो ग्राहकहरूलाई परम्परागत बैंकिङ सेवा दिने (जस्तै, ऋण वा खाताहरू उपलब्ध गराउने) बीचको भिन्नता स्पष्ट गरिएको छ।

एफडीआईसीका अध्यक्ष मार्टिन ग्रुएनबर्गले डिसेम्बरमा भनेका थिए, “एफडीआईसी ले क्रिप्टो फर्महरूको बैंक खातामा पहुँच रोक्ने आदेश दिएको छैन, तर बैंकहरूद्वारा क्रिप्टो प्रत्यक्ष संलग्नता पर्यवेक्षणको विषय हो।”

मेमोले थप स्पष्ट पारेको छ, “क्रिप्टोसँग सम्बन्धित गतिविधिहरूले महत्वपूर्ण सुरक्षा, स्थिरता र उपभोक्ता संरक्षण जोखिम निम्त्याउन सक्छन्। यी जोखिमहरू अझै विकसित हुँदैछन्।”

प्रकाशित: २२ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया