खगोल/अन्तरिक्ष

नासाको पर्सिभेरन्स रोभरद्वारा मङ्गल ग्रहको जेजेरो क्रेटरको रिम सफलतापूर्वक आरोहण

नासाको पर्सिभेरन्स रोभरद्वारा मङ्गल ग्रहको जेजेरो क्रेटरको रिम सफलतापूर्वक आरोहण
फाइल तस्बिर
Global IME Bank

नासाको पर्सिभेरन्स रोभरले मङ्गल ग्रहको जेजेरो क्रेटरको रिम पार गर्दै ३.५ महिनाको महत्त्वपूर्ण यात्रा सम्पन्न गरेको छ। यस क्रममा रोभरले करिब १,६४० फिट (५०० मिटर) उचाइमा चढ्दै २०% सम्मको ढलान भएको फिसलिलो र बदलिँदो भू-भाग पार गर्‍यो।

“जेजेरो क्रेटरको रिम आरोहणको क्रममा हाम्रो रोभर ड्राइभरहरूले अविश्वसनीय काम गर्दै अवतरणपछि भेटिएका सबैभन्दा कठिन भू-भाग पार गर्न नवीन तरिकाहरू विकास गरेका छन्,” नासाको जेट प्रपल्सन ल्याबोराटोरी (जेपीएल) क्यालिफोर्नियाका डेपुटी प्रोजेक्ट म्यानेजर स्टेभन लीले डिसेम्बर १२ मा बताएका छन्।

“यी चुनौतीहरू पार गर्न नयाँ तरिकाहरू अपनाइयो, यहाँसम्म कि रोभरलाई पछाडि चलाएर पनि प्रयास गरियो। पर्सिभरेन्सले यो यात्रा सफलतापूर्वक पार गरेको छ,” लीले थपे। “यो रोभर आगामी वैज्ञानिक अभियानका लागि पूर्ण रूपमा तयार छ।”

नयाँ अभियान: “नर्दर्न रिम”

पर्सिभेरन्सले जेजेरो क्रेटरको २८ माइल चौडा (४५ किमी) भूमिमा २०२१ को फेब्रुअरीमा अवतरण गरेको थियो। यस अभियानको उद्देश्य मङ्गल ग्रहमा प्राचीन जीवनको संकेत खोज्नु र नमूना सङ्कलन गरी भविष्यमा पृथ्वीमा ल्याउनु रहेको स्पेस डटकमले उल्लेख गरेको छ।

“नर्दर्न रिम” नाम दिइएको नयाँ अभियानले पर्सिभेरन्सलाई भिन्न भूगर्भीय विशेषताहरू भएको क्षेत्रमा पुर्‍याउनेछ। क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका परियोजना वैज्ञानिक केन फार्लीका अनुसार, यो अभियानले मङ्गल ग्रहको प्रारम्भिक इतिहास र पृथ्वीको प्रारम्भिक अवस्थाको झलक दिने महत्त्वपूर्ण चट्टानहरू अध्ययन गर्न सहयोग गर्नेछ।

नयाँ अभियानको पहिलो प्रमुख स्थल “विच हेजल हिल” हो, जहाँ ३३० फिट (१०० मिटर) लामो तहयुक्त चट्टानहरूको अध्ययन हुनेछ। प्रत्येक तह मङ्गल ग्रहको प्राचीन इतिहासको एउटा पाना जस्तै छ।

यसपछि, रोभर “लाक डे चार्म्स” नामक अर्को स्थलतर्फ अघि बढ्नेछ, जुन जेजेरो क्रेटरको रिमभन्दा बाहिरको क्षेत्रमा पर्छ। यो स्थान क्रेटर निर्माणको प्रभावबाट कम प्रभावित भएको विश्वास गरिन्छ।

अभियानको क्रममा, पर्सिभरेन्सले आगामी एक वर्षमा चार भूगर्भीय स्थान भ्रमण गर्दै करिब ४ माइल (६.४ किमी) दूरी तय गर्ने बताइएको छ। नयाँ अनुसन्धानले मङ्गल ग्रह र सौरमण्डलको प्रारम्भिक इतिहासलाई गहिरो रूपमा बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

Sajilo Visa
easy care