Technology Khabar १९ मंसिर २०८१, बुधबार
काठमाडौं ।
वैज्ञानिकहरूले शुक्र ग्रहमा जीवन सम्भव भएको विचारलाई खारेज गरेका छन्। यो निराशाजनक तथ्य शुक्र ग्रहको सतहमा कहिल्यै पानीका महासागरहरू भएको प्रमाण नभेटिएपछि खुलेको हो।
शुक्र ग्रहलाई अक्सर पृथ्वीको “दुष्ट जुम्ल्याहा” अर्थात् इभल ट्विन भनिन्छ, किनभने अहिले यो नरकजस्तो देखिने भए पनि प्राचीन कालमा यो ग्रह पृथ्वीजस्तै थियो भन्ने विश्वास गरिएको थियो।
तर नयाँ अनुसन्धानले शुक्र सधैं नरकजस्तै ग्रह थियो र पृथ्वीको समान आकार र सूर्यबाट दूरी भए पनि यो अन्य हिसाबले कहिल्यै पृथ्वीको जुम्ल्याहा थिएन भन्ने देखाउँछ।
यो अनुसन्धान क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले गरेको हो। यस टोलीले शुक्रको वायुमण्डलको रासायनिक संरचना अध्ययन गरेर यी निष्कर्षहरूमा पुगेका हुन्।
टोलीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा प्रकाशित छ, जसले सौरमण्डलबाहिरको अनुसन्धानका लागि पनि नयाँ दिशाहरू देखाउन सक्छ। यी निष्कर्षहरूले खगोलशास्त्रीहरूलाई बस्न योग्य अन्य ग्रह (एक्सोप्लानेट) छनोट गर्न मद्दत गर्न सक्छ।

क्याम्ब्रिजको इन्स्टिच्युट अफ एस्ट्रोनोमीकी पीएचडी विद्यार्थी तथा टोली प्रमुख टेरेजा कोन्स्टान्टिनुले भनिन्, “शुक्र हामीसँग सबैभन्दा नजिकको ग्रह भए पनि, यो ग्रहको अध्ययनले हाम्रोभन्दा बिल्कुलै फरक तरिकाले विकसित भएको ग्रह अन्वेषण गर्न सोलार सिस्टमको बस्न योग्य क्षेत्रको छेउमै एक अद्वितीय अवसर दिन्छ।”
हाल शुक्रको सतह तापक्रम लगभग १,००० डिग्री फरेनहाइट (५०० डिग्री सेल्सियस) छ, जुन तापक्रममा सीसा पग्लिन सक्छ। त्यसमाथि, यो ग्रहमा सल्फ्युरिक एसिडका बादलहरू पनि छन्। यस्ता चरम अवस्थाहरूका बाबजुद, धेरै वैज्ञानिकहरूले अर्बौं वर्षअघि शुक्रमा जीवन सम्भावित थियो भनी विश्वास गर्छन्।
स्पेस डटकमका अनुसार यो प्रश्नको अनुसन्धानमा धेरैजसो पानीलाई मुख्य बिन्दु मानिएको छ, किनभने जीवनका लागि पानीलाई महत्त्वपूर्ण तत्व मानिन्छ।
शुक्रको ४.६ अर्ब वर्ष लामो इतिहासका लागि दुईवटा मुख्य सिद्धान्त छन्। पहिलो सिद्धान्तअनुसार ग्रह कहिलेकाहीं चिसो हुन्थ्यो, जसले गर्दा तरल पानी कायम रहन्थ्यो। यो अवस्था ज्वालामुखी गतिविधिबाट उत्पन्न भएको ग्रीनहाउस प्रभावका कारण क्रमशः समाप्त भयो, र शुक्र एकदम तातो हुँदै गयो।
दोस्रो सिद्धान्तले शुक्र ग्रह “तातो जन्मिएको” बताउँछ, जसका कारण यसमा कहिल्यै तरल पानी थिएन। टोलीको नतिजाले यो दोस्रो सिद्धान्तलाई बल पुर्याएको देखिन्छ।
टेरेजा कोन्स्टान्टिनुले भनिन्, “यी दुई सिद्धान्त जलवायु मोडेलहरूमा आधारित छन्। तर, हामीले शुक्रको वायुमण्डलको हालको रासायनिक संरचनाको आधारमा भिन्न दृष्टिकोण अपनाउन खोज्यौं।” अनुसन्धानमा शुक्रको वायुमण्डलमा पानी, कार्बन डाइअक्साइड, र कार्बोनाइल सल्फाइड कति छिटो नष्ट हुन्छ र ती ज्वालामुखी गतिविधिबाट ग्रहको भित्री भागबाट कति छिटो पुनः पूर्ति हुन्छ भन्ने अध्ययन गरियो।
यो अनुसन्धानले शुक्रको वायुमण्डल स्थिर राख्न, ग्रहको भित्री र बाहिरी भागबीच निरन्तर रासायनिक अन्तरक्रिया आवश्यक हुने देखाएको छ। ग्रहको भित्री भागमा भएको म्याग्माले ज्वालामुखी गतिविधिबाट ग्यासको रूपमा सतहमाथि आउँदा ग्रहहरूको भित्री संरचनाबारे संकेत दिन्छ।
पृथ्वीका ज्वालामुखी विस्फोटहरू प्रायः पानीयुक्त वाष्प हुन्छन्, किनभने हाम्रो ग्रहको भित्री भाग पानीले भरिएको छ। तर टोलीले शुक्र ग्रहका ज्वालामुखी ग्यासमा मात्र ६% भन्दा कम पानीको वाष्प छ भन्ने पत्ता लगाएको छ।
यी सुख्खा विस्फोटहरूका आधारमा, अनुसन्धानकर्ताहरूले शुक्र ग्रहको भित्री भाग अत्यन्तै सुख्खा भएको र यस ग्रहले सतहमाथि महासागर बनाउने पर्याप्त पानी कहिल्यै नभएको निष्कर्ष निकाले।

टेरेजा कोन्स्टान्टिनुले भनिन्, “शुक्रमा जीवन सम्भव छ कि छैन भनेर हामी यस दशकको अन्त्यसम्म मात्र निश्चित रूपमा जान्न सक्छौं। तर, यस ग्रहमा महासागर कहिल्यै नभएको सम्भावना हुँदा पृथ्वीजस्तै जीवनलाई समर्थन गर्ने सम्भावना निकै कठिन छ।”
नासाको दा भिन्सी मिशन
यो प्रश्नको उत्तर चाँडै आउन सक्छ। नासाको दा भिन्सी मिशन २०२९ को जुनमा प्रक्षेपण हुने अपेक्षा गरिएको छ, र यो दुई वर्षपछि शुक्र ग्रहमा पुग्नेछ।
यो मिशनले शुक्रको वायुमण्डलमा जाँच गर्न एउटा प्रोब पठाउनेछ, जसले महत्त्वपूर्ण डाटा संकलन गर्नेछ। यद्यपि प्रोबले आफ्नो अवतरणलाई सहन गर्न डिजाइन गरिएको छैन, त्यसले शुक्रको सतहलाई ७ सेकेन्डसम्म हेर्ने मौका पाउन सक्ने स्पेस डटकमले उल्लेख गरेको छ।
यदि शुक्रमा पहिले जीवन सम्भावित थियो भने यसले पहिले पत्ता लगाइएका एक्सोप्लानेटहरू पनि बस्न योग्य हुन सक्छन् भन्ने संकेत दिन सक्ने कोन्स्टान्टिनुले स्पष्ट पारिन्।
“जेम्स वेब स्पेस टेलिस्कोपजस्ता उपकरणहरूले ताराहरूको नजिकका ग्रहहरूको वायुमण्डल अध्ययन गर्न सक्षम छन्, शुक्रजस्तै। तर, यदि शुक्र कहिल्यै बस्न योग्य थिएन भने, शुक्रजस्तै अन्य ग्रहहरू पनि जीवनलाई समर्थन गर्ने सम्भावना कम भएका ग्रहहरू हुन् भन्ने बुझ्न सक्छ,” कोन्स्टान्टिनुले भनिन्।
उनले थपिन्, “हामीले शुक्र एक समय पृथ्वीजस्तै रहेको पत्ता लगाउन चाहन्थ्यौं, त्यसो नभएको थाहा पाउँदा अलि दु:ख लाग्छ। तर अन्ततः कम्तीमा जीवनका लागि पानी आवश्यक पर्ने अवस्थामा हामीले जीवनलाई समर्थन गर्न सक्ने ग्रहहरूको खोजीमा ध्यान दिनु अझ उपयोगी हुन्छ।”
प्रकाशित: १९ मंसिर २०८१, बुधबार