एनपीएलमा बेटिङ प्लेटफर्मको खुल्लमखुल्ला प्रचार, के गर्दैछ प्रहरी?

Technology Khabar १८ मंसिर २०८१, मंगलवार

काठमाडौं ।

नेपालमा भइरहेको फ्रेञ्चाइज लिग क्रिकेट प्रतियोगिता एनपीएलमा अनलाइन सट्टेबाजी अर्थात् बेटिङ साइटको पनि प्रचार सामग्री देखिएको छ। केही दिनअघि शुरु भएको उक्त लिग आयोजनाका बारेमा विश्वभर वाहवाही हुँदै गर्दा केही नकारात्मक पक्षहरु पनि देखिएका हुन्। तीमध्ये अलि गम्भीर पक्ष वुल्फ७७७ नामक बेटिङ साइटको प्रचार प्रसार हो।

खेलमा बेटिङ अर्थात् सट्टेबाजी गराउनु तथा म्याच फिक्सिङ/स्पट फिक्सिङ गराउनुलाई गम्भीर अपराधका रुपमा लिइन्छ। विश्वका धेरै देशमा औपचारिक रुपमै सट्टेबाजी गराउने संस्था र साइटहरु पनि छन्। तर नेपालको हकमा भने सट्टेबाजी र म्याच फिक्सिङ दुवै जघन्य अपराधमा पर्छन्।

भौतिक रुपमा मात्र नभई कुनै पनि स्वदेशी वा विदेशी सट्टेबाजी गराउने संस्था वा प्लेटफर्मका बारेमा नेपालका सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समेत प्रचार प्रसार गर्न पाइँदैन।

केही समयअघि स्पट फिक्सिङको अभियोगमा नेपालका क्रिकेटर मेहबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी पक्राऊ परेका थिए भने हास्य टेलिश्रृङ्खलाका कलाकारहरु राजु मास्टर तथा बल्छी ध्रुबेलगायतलाई अन्जानमै आफ्नो युट्युब च्यानलमा विदेशी बेटिङ साइटको लिंक राखेर प्रचार गरेकोमा हिरासतमा लिइएको थियो।

एनपीएलमा प्रचार गरिएका विभिन्न संघसंस्थताहरुमध्ये वुल्फ७७७ एउटा बेटिङ साइट हो। यसरी नेपालमा प्रतिबन्ध लगाइएको वा वर्जित गरिएको बेटिङ साइटको प्रचार मुख्य खेलहरुमा नै गर्दा ती खेलहरुमा सट्टेबाजी हुँदैनन् भन्ने ग्यारेन्टी गर्न सकिँदैन।

हुन त प्रहरीले पहिले पनि खेलका क्रममा निगरानी गर्ने भएकाले विदेशी खेलाडीसहितको र विश्वभरका करोडौं फ्यान र मिडियामा चर्चा बटुलेको एनपीएलका क्रममा पनि नेपालबाट मात्र नभई भारत, बंगलादेशलगायतबाट पनि बेटिङ हुनसक्ने भन्दै अनुगमन कडा पारेको बताएको छ।

एनपीएल आयोजनाका माध्यमबाट नेपाली क्रिकेटलाई एउटा उचाईमा पुर्याउन सफल भएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा क्यानका हालका सचिव पारस खड्काको विश्वभर चर्चा चलिरहँदा यस्ता प्रचार सामग्रीले भने नियतमाथि पनि प्रश्नचिह्न खडा गरेको छ।

वुल्फ७७७ लाइ क्यानले समाचार पोर्टलका रुपमा राखेको छ तर यो एउटा विशुद्ध बेटिङ साइट हो। क्यानले सबै प्रायोजकहरुबारे पत्रकार सम्मेलन तथा प्रेस विज्ञप्तिमार्फत् मिडियालाई जानकारी गराए पनि वुल्फ७७७का बारेमा भने यस्तो केही आएको थिएन।

यसै हिसाबले पनि मुख्य प्रायोजक सिटिजन्स बैंककै लहरमा उभिएको बेटिङ साइट कतै शंकास्पद भूमिकाका लागि ‘चोर बाटो’ बाट ल्याइएको त होइन? भन्ने प्रश्न उठिरहेको छ।

यसअघि नेपालमा भएका डिभिजन लिगहरुमा समेत दफान्युज तथा वनएक्सब्याटजस्ता साइटहरुको प्रचारप्रसार बाउन्ड्री रोप तथा बाउण्ड्रीबाहिरका विज्ञापनहरुमा देखिन्थे।

सामाजिक सञ्जालहरुमा विभिन्न व्यक्तहरुले यसबारे फोटोसहित प्रचार प्रसार गरे पनि औपचारिक रुपमा यस्ता प्रचार सामग्री हटाउने काम क्यान तथा नेपाल प्रहरीले गरेका थिएनन्।

यसपटक भने आईसीसीको एन्टि करप्शन युनिट र नेपाल प्रहरीको सहकार्यमा अनुगमन गरिएको भनिए पनि यस प्रकारको सन्दिग्ध प्रचार सामग्री मुख्य प्रायोजकको लाइनमै टड्कारो देखिनुले शंका गर्ने ठाउँ प्रशस्त दिएको छ।

बेटिङ प्लेटफर्मलाई समाचार पोर्टलको रुपमा प्रस्तुत गरेर  प्रायोजनका लागि उभ्याइनु भनेको कानूनका छिद्रमा टेकेर वा त्यसलाई अपव्याख्या गरेर विभिन्न सांगीतिक ब्याण्ड वा सीडीका नाममा मदिरा तथा मदिराजन्य उत्पादन कानूनले वर्जित गरेको सञ्चारमाध्यम तथा होर्डिङ बोर्डमा प्रकाशन प्रसारण गरेजस्तै हुन जान्छ।

प्रकाशित: १८ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया