
काठमाडौं ।
गत असोज ६ गते साइबर अपराधको अभियोगमा भक्तपुरबाट पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रति मुद्दा ५०/५० हजार रुपैयाँका दरले दुई वटा मुद्दाका लागि एक लाख रुपैयाँ धरौटी मागेको हो। सोही रकम बुझाएपछि उनी रिहा भएका हुन्।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत असोज ६ गते प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको र जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि पक्राउ गरिएको बताएको थियो।
ब्युरोले उनलाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।
प्रसाईविरुद्ध एक महिलाले आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा लिखित उजुरी दर्ता गराएको र त्यसै अनुरुप सोधपूछ रअनुसन्धानका लागि उनलाई पक्राऊ गरिएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नबिन्द्र अर्यालले जानकारी दिएका थिए।
युट्युब च्यानल ‘देश दुनियाँ खबर’ मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप थियो। अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए।
सोही सिलसिलामा प्रसाईँमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतले साइबर ब्युरोलाई तीन दिन म्याद थपिदिएको थियो।
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार