यसकारण पूरा भएन पेरिस ओलम्पिकका पारखी ओसार्ने ‘एयरट्याक्सी’ को सपना

Technology Khabar २८ श्रावण २०८१, सोमबार

यसकारण पूरा भएन पेरिस ओलम्पिकका पारखी ओसार्ने ‘एयरट्याक्सी’ को सपना
तस्बिर सौजन्य: एपी

काठमाडौं ।

पेरिस ओलम्पिकका बेला गेम भइरहेका ठाउँमा सर्वसाधारण आफैं उडेर पुग्ने परिदृश्य सँगालेको एयर ट्याक्सीको सपना पूरा हुन सकेन। सार्वजनिक उडानका लागि आवश्यक प्रामाणिकता पाउन ढिला भएकाले यस्तो भएको अन्तरराष्ट्रिय समाचार संस्था एपीन्युजले जनाएको छ।

यसअघि ओलम्पिक खेलकुदका बेला सर्वसाधारणलाई आवतजावतका लागि भोलोकप्टर नामक एयर ट्याक्सीले उडान अनुमति पाउने अपेक्षा गरिएको थियो। यसैक्रममा शनिबार भोलोकप्टरको परीक्षण उडान गरियो। यो उडान भर्साइलिस दरबारको मैदानमा २०२४ ओलम्पिकको अन्तिम दिन गरिएको थियो।

परीक्षणका क्रममा भर्साइलि दरबारको बगैंचाबाट उडाइएको उक्त एयरट्याक्सीमा यात्रु नभई उनीहरुका सामानका ब्यागहरु राखिएका थिए। समाचारमा जनाइए अनुसार भर्साइलिस दरबारको त्यही ठाउँबाट सन् १७८३ मा पहिलोपटक अट एयर बेलुन उडाइएको थियो।

पेरिसका स्थानीय अधिकारीहरुले ओलम्पिकका लागि जर्मनीको भोलोकप्टर तथा पेरिसको विमानस्थल निकाय एडीपीको सहकार्यमा चालकरहित एयरट्याक्सीको सानो समूह नै उडाउने योजना बनाएको थियो। यसका लागि ओलम्पिक खेल हुने ठाउँका पाँच रुटहरु तोकिएका थिए।

यी सवारीहरु सिनी नदिको किनारामा अवतरण गर्ने व्यवस्था गरिएको थियो। यसबारे भोलोकप्टरका सीईओ डर्क होकले आफ्नो पहिलो यात्रु फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों हुने अपेक्षा पनि गरेका थिए।

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया