Technology Khabar १४ श्रावण २०८१, सोमबार
काठमाडौं ।
काभ्रेको बनेपामा बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा ल्याइने भएको छ । यहाँ यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ ।
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ । यसअघि काठमाडौँ उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।
प्रमुख व्यापारिक नगरीका रूपमा परिचित बनेपामा गत असार १६ गते स्थापित कार्यालयले हालसम्म २ हजार ४ सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ ।
स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको कार्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईँले बताए ।
उनका अनुसार हाल बनेपास्थित कार्यालयबाट ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी र रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण तथा सवारीसाधन करसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।
मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो ।
बाग्मती प्रदेश सरकारले साउनबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ । नयाँ सवारी चालक अनुमतिपत्रका लागि कार्यालयले ‘ट्रायल सेन्टर’ सञ्चालनका लागि निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यस्तै आवश्यक जनशक्ति व्यवस्थापन गरी सवारी प्रदूषण जाँचपास, सवारी चालक अनुमतिपत्र नवीकरणलगायत यातायातसम्बन्धी अन्य कार्य थालिने बजगाईँले बताए ।
उनले भने, “सेवा लिन आएका नागरिकलाई छिटोछरितो सेवा दिनेगरी व्यवस्थापनमा लागेका छौँ ।” उनका अनुसार करिब एक महिनामा कार्यालयले एक करोड ७७ लाख ४८ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस
प्रकाशित: १४ श्रावण २०८१, सोमबार