क्लास एक्शन मुद्दा सुल्झाउन ६६ लाख २५ हजार डलर तिर्न लिंक्डइन सहमत

  • Technology Khabar | १४ श्रावण २०८१, सोमबार
क्लास एक्शन मुद्दा सुल्झाउन ६६ लाख २५ हजार डलर तिर्न लिंक्डइन सहमत

काठमाडौं ।

आफूमाथि विज्ञापनदाताहरुले हालेको मुद्दा (क्लास एक्शन) सुल्झाउन ६६ लाख २५ हजार डलर तिर्न लिंक्डइन सहमत भएको छ।

माइक्रोसफ्ट अन्तर्गतको उक्त कम्पनीमाथि उसको प्लेटफर्ममा भिडियो हेरिएको सङ्ख्या बढाएर विज्ञापनदाताहरुबाट बढी रकम असुलेको आरोप लगाउँदै मुद्दा परेको थियो ।

यसअघि गत बिहीबार क्यालिफोर्नियाको सान होजेस्थित संघीय अदालतमा उक्त मुद्दा सुल्झाउन निवेदन दर्ता गरिएको थियो । यसमा क्यालिफोर्नियाको सान होजेकी अमेरिकी म्याजिस्ट्रेट सुसन भान क्युलनको अनुमोदन आवश्यक रहने समाचार संस्था रोयटर्समा उल्लेख छ।

यसमा लिंक्डइनले भने आफूले कुनै बदमाशी नगरेको दावी गरेको छ। चित्त नबुझेको खण्डमा आफ्ना विज्ञापनका मेट्रिक्स समीक्षाका लागि २ वर्षसम्म बाहिरका अडिटर नियुक्त गर्न पनि तयार रहेको कम्पनीको भनाई छ।

स्याक्रामेन्टो र शिकागोका विज्ञापनदाताहरु क्रमश: टपडेभ्ज तथा नोइरिफाईले लिंक्डइनमाथि प्रयोगकर्ताले अफ स्क्रीनमा हेरेका र त्यसलाई छोडेर तलतिर स्क्रोल गरेका भिडियोहरुसमेत गनेर विज्ञापनको मेट्रिक्स बढाएको आरोप लगाएका थिए।

उक्त मुद्दा लिंक्ड्इनले गत सन् २०२० मा आफ्ना इन्जिनियरहरुले सफ्टवेयरको समस्या सुल्झाउने क्रममा ४ लाख १८ हजारभन्दा बढी ओभरचार्ज भएको (वास्तविकभन्दा बढी शुल्क लिइएको) र तीमध्ये अधिकांश २५ डलरमुनिका रहेका भन्ने जानकारी खुलासा गरेको २ हप्तापछि परेको थियो।

बिहीबारको मिलान जनवरी २०१५ देखि मे २०२३ सम्म विज्ञापन किनेका अमेरिकी विज्ञापनदाताहरुका लागि रहेको थियो ।

यसै क्रममा एउटा विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त मिलान प्रस्ताव ‘कम्पनीको विज्ञापन सामग्रीप्रतिको नैतिकताका साथै आफ्ना सदस्य तथा उपभोक्ताहरुलाई विश्वसनीय प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धताको कसी’ भएको उल्लेख गरेको छ।

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार