एक वर्षमा नेपाल भित्रियो साढे ३ अर्बमाथिकाे विद्युतीय चुलो

Technology Khabar १३ श्रावण २०८१, आईतवार

एक वर्षमा नेपाल भित्रियो साढे ३ अर्बमाथिकाे विद्युतीय चुलो
सांकेतिक तस्विर

काठमाडौं ।

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३ अर्ब ५३ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्। 

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरु तथा नाम नखुलेको एक ठाउँबाट उक्त मूल्य बराबरका १ लाख ७२ हजार ११ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५० करोड ४८ लाख १० हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ ।

विवरण अनुसार यो अवधिमा विश्वका ६ देश र नाम नखुलेको १ ठाउँबाट गरी नेपालमा २५ करोड ४ लाख ९८ हजार बराबरको १ लाख २० हजार ७१६ थान इण्डक्शन चुलो भित्रिएको छ ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट १९ करोड ४५ लाख १६ हजार बराबरको ९३ हजार २३० थान तथा भारतबाट ५ करोड ५९ लाख ५५ हजार बराबरको २७ हजार ४६७ थान आएको छ।

यीबाहेक सिंगापुरबाट २० हजार बराबरको १३ थान, कतार र यूएईबाट समान २ २ थान तथा मलेशिया र नाम नखुलेको ठाउँबाट समान १ १ थान इण्डक्शन चुलो आएको पाइएको छ।

यसैगरी इन्फ्रारेड चुलोहरु भने चीन र भारतबाटमात्र आएका छन्। जसमध्ये सबैभन्दा धेरै चीनबाट ७८ करोड ३० लाख ७० हजार बराबरको ४० हजार ३७८ तथा भारतबाट २२ करोड ३७ लाख १० हजार बराबरको ९ हजार ८३८ थान आएको तथ्याङ्क छ।

यीबाहेक चीन, भारत, इटली, फ्रान्स तथा बेलायतबाट २६ लाख ६८ हजार बराबरको १ हजार ७९ थान अन्य विद्युतीय चुलोहरु आएका छन्। यी चुलोहरुमा कुन कुन पर्छन् भन्ने खुलाइएको छैन ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ५ लाख ३३ हजार बराबर ५६७ थान, भारतबाट ९ लाख ९१ हजार बराबर ४९८ थान र इटलीबाट १० लाख ८४ हजार बराबरको ९ थान आयात भएको छ। यसबाहेक बेलायतबाट २ हजार बराबरको ४ थान तथा फ्रान्सबाट ५८ हजार बराबरको १ थान यस्तो विद्युतीय चुलो आयात भएको तथ्याङ्कले देखाएको छ। 

प्रकाशित: १३ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया