
काठमाडौं ।
बीएमडब्ल्यू सीई ०४ नामक ई स्कूटर बुधबार भारतमा आधिकारिक रुपमा रिलीज गरिएको छ। दुई वर्षअघि बीएमडब्ल्यू सीई ०४ को प्रारम्भिक प्रदर्शन गरिएको थियो।
साथै बीएमडब्ल्यू मोटरराड इन्डियाले भारतको पहिलो प्रिमियम इलेक्ट्रिक स्कुटर भनेर नाम दिएको यो सवारीको प्रि–लन्च बुकिङ खोलेको घोषणा गरेको छ।
नयाँ बीएमडब्ल्यू सीई ०४ फ्युचरिस्टिक डिजाइन, उन्नत प्रविधि र पर्यावरणमैत्री प्रदर्शनका साथ नवप्रवर्तन र शहरी गतिशीलताको सिमलेस मिश्रण भएको जनाइएको छ।
कम्पनीले यो नयाँ स्कुटरले शहरी आवतजावतलाई पुनः परिभाषित गरेको र आधुनिक र रमाइलो राइडिङ अनुभव प्रदान गर्ने जनाएको छ।
बीएमडब्ल्यू सीई ०४ अल्ट्रा–प्रिमियम ई–स्कुटर म्याक्सी–स्टाइल (शैली) को फ्युचरिस्टिक लुकको साथ आएको उल्लेख छ। साथै यो भारतको सबैभन्दा महँगो ई–स्कुटर भएको उल्लेख गरिएको छ।
यो ई–स्कुटरको उच्च गति १२० किलोमिटर प्रति घण्टा रहेको र यसले १३० किलोमिटरको रेञ्ज प्रदान गर्ने दावी गरिएको छ।
सीई ०४ ले २.६ सेकेन्डमा ०–५० किलोमिटर प्रति घण्टाको गति लिन सक्ने छ भने यसमा दुईवटा चार्जिङ विकल्पहरू प्रदान गरिएको उल्लेख छ।
पहिलो चार्जिङ विकल्प अनुसार २.३ किलोवाटको चार्जरले ४.५ घण्टाभन्दा कममा ई–स्कुटरलाई पूर्ण रूपमा चार्ज गर्ने जनाइएको छ भने दोस्रो विकल्पमा रहेको ६.९ किलोवाटको चार्जरले ई–स्कुटरलाई पूर्ण रूपमा चार्ज गर्नको लागि १.६७ घण्टा (१०० मिनेट) समय लिने उल्लेख गरिएको छ।
बीएमडब्ल्यू सीई ०४ मा फ्लोटिङ प्यानल, मिनिमलिस्ट ग्राफिक्स, एक्सपोज्ड रियर ह्वील र कन्ट्रास्टिङ ओरेन्ज हाइलाइटहरू रहेका छन्। साथै यो ई–स्कुटर २०–हर्सपावरको लिक्विड–कुल्ड पीएमएसएम इलेक्ट्रिक मोटर र ८.९ किलोवाटआवर ब्याट्री प्याकद्वारा सञ्चालित हुने जनाइएको छ।
यसमा डुअल २६५ एमएम फ्रन्ट डिस्क र सिङ्गल रियर डिस्क समावेश गरिएको छ। त्यसैगरी राइडरको सुरक्षामा सुधारका लागि भनेर यसमा एबीएस र ट्र्याक्सन कन्ट्रोल रहेको उल्लेख छ।
यसबाहेक यसमा भेन्टिलेटेड मोबाइल चार्जिङ कम्पार्टमेन्ट, हेल्मेट स्टोरेज कम्पार्टमेन्ट र ठूलो १०.५ इन्चको एचडी टीएफटी इन्फोटेनमेन्ट डिस्प्ले फिचर गरिएका छन्।
बीएमडब्ल्यू सीई ०४ को इन्फोटेनमेन्ट स्क्रिनले स्प्लिट–स्क्रिन फङ्गसनेलिटी, नेभिगेसन टुल्स र अन्य राइड डाटा प्रदान गर्ने जनाइएको छ। यसमा ट्युबुलर चेसिसका साथै अगाडि ३५ एमएमको टेलिस्कोपिक फोर्क र एक अद्वितीय स्विङआर्मको साथमा रियर मोनो–शक सिस्टम रहेको उल्लेख छ।
मूल्य निर्धारण
बीएमडब्ल्यू सीई ०४ को मूल्य २० लाख (२४,००० अमेरिकी डलर) सम्म हुन सक्ने उल्लेख गरिएको छ। यद्यपि आधिकारिक खुद्रा मूल्यको बारेमा भने पुष्टि नभएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
प्रकाशित: १२ श्रावण २०८१, शनिबार