Technology Khabar १० श्रावण २०८१, बिहीबार
काठमाडौं ।
साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले एउटा पोस्ट इन्सिडेन्ट रिभ्यू (घटनापछिको समीक्षा) सार्वजनिक गर्दै गत हप्ता ८५ लाख विण्डोजमा समस्या आउनुको मुख्य कारण परीक्षण सफ्टवेयर रहेको स्विकार गरेको छ ।
उक्त समीक्षामा गत हप्ताको विश्वव्यापी समस्याको मुख्य दोष परीक्षण सफ्टवेयरमा रहेको बग अर्थात् समस्यालाई लगाइएको छ ।
यसैका कारण शुक्रबार विश्वभरका लाखौं डिभाइसमा पठाइएको अपडेटले राम्रोसँग काम गर्न नसकेको समीक्षापत्रको आशय उल्लेख गर्दै सञ्चार संस्था द भर्जले लेखेको छ।
समीक्षामा कम्पनीले अबका दिनमा आफ्ना कन्टेन्ट अपडेटहरुलाई अझ गहन रुपमा परीक्षण गर्ने, गल्ती व्यवस्थापनको तरिकामा सुधार ल्याउने र यस्ता समस्या दोहोरिन नदिन एउटा विशेष समूहलाई अनवरत परिचालन गर्ने प्रतिवद्धता पनि जाहेर गरेको छ ।
क्राउडस्ट्राइकको फाल्कन सफ्टवेयर संसारभरका व्यवसायहरूले लाखौं मालवेयर र अन्य सुरक्षा खतराको सामना गर्नका लागि प्रयोग गर्दै आएका छन्।
गत शुक्रबार कम्पनीले आफ्नो सफ्टवेयरको लागि कन्टेन्ट कन्फिगरेसन अपडेट जारी गरेको थियो जसले नवीन खतराहरुको तौरतरिकाबारे जानकारी संकलन गर्ने अपेक्षा गरिएको थियो ।
यी अपडेटहरु नियमित रूपमा डेलिभर हुने गर्दछन् तर यसपटकको विशेष कन्फिगरेसन अपडेटले भने विश्वभरका ८५ लाख विन्डोजमा समस्या उत्पन्न गरायो ।
प्रकाशित: १० श्रावण २०८१, बिहीबार